काठमाडौं । २५ हजार सक्रिय संक्रमित नाघेको खण्डमा फेरि निषेधाज्ञा लागू गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको माग भए पनि अहिले मुलुकमा ४० हजार बढी संक्रिय संक्रमित नाघिसकेका छन् ।
यही बेला हिन्दूहरुको ठूलो पर्व दशैंले मानिसहरुको चहलपहल बढेको बेला फेरि लकडाउन हुने र कफ्र्युसम्म लाग्ने हल्लाले बजार तातेको बेला गृहमन्त्रालयले विभिन्न विद्युतीय माध्यममा सङ्कटकाल र कर्फ्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ ।
समाजमा आतंकै सिर्जना भएपछि मन्त्रालयले एक विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषयसमेत जोडेर सङ्कटकाल र कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषण गरेको पाइएकाले गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।
उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको व्येहोरा सम्बन्धित सबैमा सूचीत गरिन्छ, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनालाई गम्भीरतापूर्वक लिइ आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।