free website hit counter

यति कठोर हुन्छ आमाको मन ? अष्ट्रियामा आफ्नै तीन सन्तान मार्ने नेपाली आमाको बयान

beemaadmin
२०७७ कार्तिक १७, सोमबार

काठमाडौं। आफ्ना बच्चाको सबैभन्दा नजिकको अभिभावका भनेको आमा हो । तर त्यही आमा कोही बच्चाका लागि काल बनेर आउने गरेका छन् । अष्ट्रियाको राजधानी भियनामा आफ्नै तीन सन्तानको हत्या गर्ने नेपाली महिलाले सन्तानको हत्या गर्नुपर्ने कारण पारिवारिक कलह र मानसिक तनाव हुन सक्ने देखिएको छ । यद्यपि यसको प्रस्ट कारण थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ र अभियुक्त महिलाले प्रहरीलाई दिएको बयानका आधारमा उनले कलहकै कारण हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । उनले प्रहरीलाई हत्याको क्रममा दुई साना छोराछोरीको हत्या सजिलै गरेको तर ९ वर्षकी जेठी छोरीलाई मार्ने क्रममा उनी उठेर प्रतिवाद गरेपछि अत्यन्तै संघर्षपूर्वक उनलाई मारेको सनसनीपूर्ण बयान दिएकी छिन् ।

एक स्थानीय पत्रिकाले महिलाले दिएको बयानबारे विस्तृत रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्टका अनुसार यो दम्पतीको पहिलेदेखि नै झगडा चल्दै आएको थियो । घटनाको केही हप्ता अघि मात्रै पतीपत्नीबीच ठूलो झगडा भएपछि महिलाका पतिलाई घरबाट निकालिएको थियो । प्रहरीले उनलाई घरमा प्रवेशमा प्रतिबन्ध लगाएको थियो तर महिलाकै आग्रहमा घर प्रवेशमा प्रतिबन्ध १४ दिनभन्दा पछि लम्ब्याइएन र उनका पती अक्टोबर १५ मा घर फर्किएका थिए ।

पती घर फर्किएको २४ घण्टा नहुँदै उनीहरुबीच फेरि झगडा भएको थियो । ‘मेरी पत्नीलाई अचानक लाग्यो कि म उनकी बहिनीसँग नयाँ सम्बन्ध सुरु गर्न चाहन्छु । जबकि उनी भारतमा बस्छिन्, विवाहित छिन् र दुई छोराछोरीकी आमा हुन्’ महिलाका पतीले भने । केही समयपछि ती महिला आफ्ना पतीले आफूलाई धोका दिइरहेकोमा विश्वस्त भइन् तर उनका पती भने यो कुरालाई बेकारको भन्दै अस्वीकार गर्छन् । एक पटक महिलाले आफ्ना पतिले खानामा विष मिसाएको समेत शंका गरेको उनका पति बताउँछन् । तर महिलाले भने आफ्ना पतिको डाहा गर्ने बानीका कारण आफू विक्षिप्त भएको बताउँछिन् । उनले सम्बन्धविच्छेद गर्न चाहेको बताउँदै आफूहरुबीच मुख्य गरी पैसाको विषयमा झगडा हुने बताएकी छिन् ।

घटना हुनुभन्दा अघिल्लो साँझ उनीहरुबीच फेरि झगडा भयो । महिलाले प्रहरीलाई बताएअनुसार उनका पतीले आफूले छोराछोरी लिएर जाने र महिलालाई नेपाल पठाइदिने बताएका थिए । ‘म निराश थिएँ । मैले उनीसँग झगडा गरें त्यसपछि उनी अपार्टमेन्ट छाडेर गए’ महिलाले प्रहरीसँग भनेकी छिन् । झगडापछि महिलाले खाना बनाइन् र करिब ९ बजेतिर सुत्न गइन् । उनको सानो छोरा भोकाएपछि महिला फेरि उठिन् । उनले दुध तताएर छोरालाई खान दिइन् । गएको फेब्रुअरीमा मुटुसम्बन्धी समस्यासहित जन्मिएका उनका छोरा दुध पिएसँगै निदाए । ‘तर म चिन्ता गर्न थालें । म डराएकी थिएँ र म छोराछोरीबिना रहन चाहन्नथें’ महिलाले भनिन् ।

आँखामा आँसुसहित प्रहरीको सोधपुछको क्रममा महिलाले निराशाले गराएको घटनाबारे बताइन् ‘मैले खाटबाट पहेंलो सिरानी लिएँ, छोराछोरी भएको ठाउँमा गएँ र सानो छोराको अनुहारमा सिरानीले थिचें । बीचमा म रोकिएँ र फेरि अर्को बच्चालाई पनि त्यस्तै गरें । एउटा विन्दूमा पुगेपछि उनीहरु शान्त भए ।’ ९ वर्षकी ठूली छोरीको जीवनको अन्तिम समय भने अत्यन्तै नाटकीय रुपमा बित्यो । ‘उनी बिउँझिइन् र मसँग आफ्नो पूरा शक्ति लगाएर लडिन्’ महिलाले आफ्नी छोरीको पीडा सम्झिँदै भनिन् ‘उनले आफ्नो हातले मलाई कुट्ने र चिथोर्ने गर्न थालिन् । मैले झनै जोडले थिचें, जबसम्म उनी पनि पूरै शान्त भइनन् ।’

महिलाका अनुसार छोराछोरीको हत्या गरेपछि उनी निकै दुखी र निराश भएर भान्छामा गइन् । उनले आत्महत्या गर्ने प्रयास गरेकी थिइन् तर असफल भइन् । केही घण्टापछि उनले ठूली छोरीको फोनबाट प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि घटनास्थल पुगेको प्रहरीले उनलाई पक्राउ गरेको थियो । महिलाले आफ्नो फोन झगडाको क्रममा भित्तामा हानेर फुटाएकोले छोरीको फोनबाट प्रहरीलाई फोन गरेको बताएकी छिन् ।

भियनाका क्रिमिनल ल विशेषज्ञ फ्लोरियन अलवार्थले एक हप्ताअघि महिलाको केस लिएका छन् । उनले आफूले नै प्रहरी अनुसन्धान रिपोर्ट नपाएकोले विस्तारमा बताउन नसक्ने बताउँछन् । महिलालाई भेट्न गएपछि उनले ती महिला निकै विक्षिप्त र टुटेकी देखिएको बताएका छन् । मनोवैज्ञानिक रिपोर्टमा मात्र घटनाको पृष्ठभूमि र अन्य कुराहरु थाहा हुन सक्ने उनले बताए । महिलालाई जेलमा कोरोना आइसोलेसनमा राखिएको छ । उनले आत्महत्या गर्न सक्ने जोखिमका कारण उनलाई २४ सै घण्टा निगरानीमा राखिएको छ । उनी विक्षिप्त छिन् र बारम्बार ‘मेरा छोराछोरी कहाँ छन् रु म कहाँ छु रु म अझै कति यहाँ बस्नु पर्छ रु’ भनेर सोधिरहन्छिन् । भिएना पब्लिक प्रोसिक्युटरले उनको मनोवैज्ञानिक जाँचको लागि पिटर हफमनलाई जिम्मेवारी दिएको छ । यो अभियोगमा दोषी ठहरिए महिलालाई आजीवन कारावासको सजाय हुन सक्छ । यदि उनलाई गम्भीर मानसिक रोग भए कुनै मानसिक स्वास्थ्य संस्थानमा भर्ना गर्ने आदेश दिइन सक्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार