काठमाडौं । आफैंमाथि प्रश्न उठेपछि न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधिसभा विघटनको मुद्दा नहेर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाई एक साताका लागि सरेको छ। सुनुवाई संवैधानिक इजलाशमा नै २९ गतेबाट फेरि जारी रहने छ। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा सहितको संवैधानिक इजलाशले मुद्दाको सुनुवाई २९ गतेका लागि तोकेको हो।
साथै राणासहितको बेन्चमा रहेका न्यायाधीश हरिकृष्ण कार्की माथि निवेदकहरुले प्रश्न गरेपछि अर्को इजलाशबाट उनले मुद्दा नहेर्ने भएका छन्। यो मुद्दालाई बृहत इजलाशमा लैजान निवेदकहरुले माग गरेका थिए जसलाई प्रधान न्यायाधीश चोलेन्द्र समशेर राणाले स्वीकारेनन्। न्यायाधीश हरिकृष्ण कार्कीमाथि निवेदकहरुले प्रश्न खडा गरेपछि उनले अब मुद्दा नहेर्ने भएका हुन्।
यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कार्की महान्यायाधीवक्ता भएको र अहिलेका महान्यायाधीवक्ता कानुन मन्त्री हुँदा न्यायाधीशमा सिफारिस भएकाले हरिकृष्ण कार्कीमाथि निवेदकहरुले प्रश्न उठाएका थिए। वरिष्ठ अधिवक्ता शंभु थापाले व्यक्तिगत सम्बन्ध भएका एउटा पक्ष मुद्दा लड्न आउने र अर्को पक्ष न्याय दिने ठाउँमा रहन नमिल्ने जिकिर गरेका थिए। संवैधानिक इजलाशले नै मुद्दा हेर्ने भएपछि निवेदक पक्षले माग गरेको बृहत इजलासको च्याप्टर सकिएको छ।