काठमाडौं । कोरोना कहरका कारण उत्पन्न असहज अवस्थामा पनि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्कमा २४.८६ प्रति बृद्धि भएको छ । कम्पनीको ३२औं वार्षिक साधारणसभाले सबै वित्तीय सूचकांकहरु सन्तोषजनक रहेको बताउँदै बीमा शुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले बृद्धि भई रु. ८०५.०५ करोड पुगेको र रु. ३५ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ ।
३२औं वार्षिक साधारण सभाले आव २०७५-०७६ को लागि चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने र बोनस सेयर वापतको कर प्रयोजनको लागि रु १,६२,२४,३५१ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी, आव २०७५–०७६ को अन्तसम्ममा कम्पनीको कुल लगानी २७.९४ प्रतिशतले बृद्धि भई रु.२,६८१ करोड पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले बृद्धि भई २०७६ असार मसान्तसम्ममा रु. २६ अर्ब ९२ करोड पुगेको सभामार्फत जानकारी दिइएको छ । कम्पनीले सो आवमा रु. २६९ करोड कुल दावी भुक्तानी गरेको छ ।
कम्पनी पुँजीको हिसाबले समेत सवल भएको र चालु वर्षको वोनस समेत गरी कुल चुक्ता पुँजी रु. ३ अर्ब ३९ करोड नाघेको छ । कम्पनीको आव २०७५–०७६ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषजनक रही सबै बीमालेखमा एक विन्दुले वोनस दर बढाइएको र यसवाट ब्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गरेको छ । आव २०७५–०७६ मा २५ वटा नयाँ शाखा खोल्न स्विकृती प्राप्त गरी कुल शाखा संख्या ९९ पुगेको छ ।