free website hit counter

सुन ९ महिनायताकै सस्तो

beemaadmin
२०७७ फाल्गुन ६, बिहीबार

काठमाडौं । एक लाख मूल्य कटेको सुनको भाउ केही समययता लगातार घटेको छ । सुनको मूल्य ९ महिनायताकै सस्तो भएको छ । २०७७ जेष्ठ महिनाकै कारोबार मूल्यमा सुन कारोबार भइरहेको छ । बुधबार प्रतितोला ९० हजार भन्दा तल कारोबार भएको सुन फागुन ६ गते, बिहीबार थप ओरालो लागेको छ । यस दिन सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । २०७७ जेष्ठ महिनाको २९ गते सुन प्रतितोला ८९ हजार ६०० रूपैयाँ तोकिएपछि सुन आज सोभन्दा कम मूल्यमा झरेको हो । जेष्ठ २८ गते भने सुन प्रतितोला ८८ हजार ६०० रूपैयाँ तोकिएको थियो ।

२०७७ असारपछि फागुन ५ गते, बुधबार सुन प्रतितोला ९० हजार भन्दा कममा कारोबार भएको थियो । सो दिन सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको हो ।सुनचाँदी व्यवसायीका अनुसार बजारमा सुनको अभाव भएको र माग पनि कम भएकाले मूल्यमा गिरावट आएको हो । अन्तरराष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्य घट्दा सोको प्रभाव नेपाली बजारमा परेको व्यवसायी बताउँछन् ।

सुनसँगै बिहीबार चाँदीको भाउ पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच हुँदैछ । बुधबार चाँदी तोलामा २० रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार ३४० रुपैयाँ तोकिएको थियो ।

सम्बन्धित समाचार