free website hit counter

अफिस जान घरघरमै विमान

beemaadmin
२०७७ चैत्र ७, शनिबार

एजेन्सी । हाम्रा घरघरमा एउटा सवारी साधनका रुपमा साइकल र मोटरसाइल अनिवार्य जस्तै भइरहेको बेला विकसित मुलुकमा भने व्यक्तिनै पिच्छे गाडीको ताँती लगाउँछन् । त्यतिले नपुगेर अब त हुँदा हुँदा हरेक घरमा निजी विमान समेत हुन थालिसकेको छ । कुनै टोलमा बस्ने हरेक परिवारसँग एउटा कार हुनु र उनीहरु कुनै कामले बाहिर निस्किँदा कार चढेर निस्किनु सामान्य भइसक्यो । तर, टोलका सबैसँग हवाइ जहाज हुनु र उनीहरु अफिस जान वा अन्य कुनै कामले बाहिर जाँदा हवाइ जहाज चढेर जान्छन् भन्ने कुरा चाहिँ अलि असामान्य लाग्छ । तर, अमेरिकाको क्यालिफोर्निया राज्यको क्यामरुन एयरपार्क क्षेत्रमा बस्ने मानिसहरुको लागि भने यो निकै सामान्य कुरा हो । यो मानिसहरुको आवासीय क्षेत्र हो । यहाँ थुप्रै परिवारहरु बस्छन् ।

यहाँका घरहरुमा कार राख्ने ग्यारेजजस्तै विमान राख्ने ह्याङ्गर छन् । यहाँका सडकमा विमान गुडिरहेको देखिनु अन्यत्रका सडकमा कार गुडेको देखिनुजस्तै सामान्य हो । यो एयरपार्क १९६३ मा क्यामरुन पार्क एयरपोर्टसँगै बनाइएको हो । अहिले यहाँ १२४ घरहरु छन् । यहाँका सडकहरु सय फिट फराकिला छन् । यी सडक फराकिला बनाइनुको कारण त्यस क्षेत्रमा बस्ने पाइलटहरुले विमानलाई एयरपोर्टबाट घरसम्म वा घरबाट एयरपोर्टसम्म गुडाउँदै लैजान सकुन् भन्ने उद्देश्य हो । क्यामरुन पार्क एयरपोर्टका म्यानेजर केभिन कुक्सीले इनसाइडरसँग कुरा गर्दै यहाँका सडकहरु एयरपोर्टको रनवेभन्दा पनि फराकिला रहेको बताए । यी सडकमा विमान गुडिरहेको बेला कार पनि सजिलै गुडेर क्रस गर्न सकियोस् भनेर सडक यति फराकिला बनाइएका हुन् ।

यहाँ सडक संकेत र चिठीका बाकसहरु सामान्यभन्दा निकै होचो बनाइएका छन् ताकि यी संकेतहरु विमानको पखेटासँग नठोक्किउन् । यहाँ सडकका नाम पनि विकानको नामबाट बोइङ रोड, सेस्ना ड्राइभ लगायत राखिएका छन् । रहरले पाइलट बनेका बर्ल स्केग्स २००३ मा बे एरियाबाट क्यामरुन एयरपार्कमा बसाइ सरेका हुन् । आफूले सानो विमान किनेपछि उनी यहाँ सरेका थिए । त्यसपछि आफूले जागिरबाट अवकाश पाउँदासम्म ७ वर्षसम्म उनी पालो अल्टोमा जागिरमा जाँदा हरेक दिन बिहान जहाजमा जान्थे र बेलुका जहाजमै फर्किन्थे ।

सम्बन्धित समाचार