काठमाडौं । कोरोना आतंक शुरु भएको वर्ष दिन नाघिसकेको छ । कोरोना जोखिम बहन गर्ने बीमा समितिको निर्णयले समग्र बीमा व्यवसायलाई नै अप्ठ्यारो पार्ने स्थिति सिर्जना भएकोमा पछिल्ला दिनमा कोरोना बीमाको दाबी भुक्तानीले सहज बाटो समातेसँगै बीमाप्रति आम मानिसको धारणा सकारात्मक बन्न पुगेको छ । चैत मसान्तसम्म कोरोना बीमाको दाबी भुक्तानी ६ अर्ब नजिक भइसकेको छ । बीमा समितिका अनुसार हालसम्म कोरोना बीमा बापत ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी गरिसकिएको छ । त्यस अवधिमा ६० हजार ५८७ वटा दाबी बापत सो बराबरको रकम भुक्तानी भएको जनाइएको छ । हालसम्म ९१ हजार ६७३ वटा दाबी भुक्तानीका फाइलहरु प्राप्त भइसकेको जनाइएको छ । भेरिफिकेशनको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा १८ हजार ८५९ वटा फाइलहरु प्रक्रियामा छन् भने ५ हजार ४३६ वटा फाइलहरु महाशाखाबाट स्वीकृत भई बीमा पुलमा प्रक्रियामा अगाडि बढिसकेको छ । थप १ हजार ९८९ वटा दाबीका फाइल महाशाखामा पठाउन तयार रहेको समितिले जनाएको छ। दाबी भुक्तानीका लागि आवश्यक कागजपत्र पुरा नभएपछि १ हजार ९८९ वटा फाइलहरु भने फेरी कम्पनीमा फिर्ता पठाएका छन्।