काठमाण्डौ । छिटो निर्णय गरेर फुर्सदमा पछुताइएको कोरोना बीमा समग्र बीमा व्यवसायलाई नै घाँटीमा अड्किएको हड्डी बनेको छ । झण्डै ६ अर्ब भुक्तानी गरिसकिएको कोरोना बीमाको दाबी भुक्तान अझै अरवौं बाँकी छ । सरकारले दिने भनेको रकम नदिएका कारण बीमा कम्पनीहरुबाट कोरोना बीमा दाबी भुक्तानी रोकिन पुगेपछि चौतर्फी आलोचना शुरु भएको छ । सरकारबाट आउनुपर्ने रकम आएपछि नियमित रुपमा सहज तरिकाले दाबी भुक्तानी हुने बीमा कम्पनीहरुले जनाएका छन्। ती कम्पनीका अधिकारीहरुले सरकारले पैसा नदिएपछि दाबी भुक्तानी अवरुद्ध हुन पुगेको बताएका छन्। यस विषयमा बीमा समितिले पहल हुनुपर्ने उनीहरुको भनाइ छ।
सरकार र कम्पनीहरुबीच १ अर्ब रुपैयाँसम्मको भुक्तानी बीमा कम्पनीले नै व्यहोर्ने र त्योभन्दा माथिको १ अर्बको नेपाल पुनर्बीमा कम्पनीले व्यहोर्ने सहमति भएको थियो भने त्यसपछिको ५० करोड रुपैयाँ बीमा समितिमा रहेको विपत्ति फन्डबाट र यसले नपुगेको सबै सरकारबाट भुक्तानी हुने सहमति भएको थियो।बीमा कम्पनीहरु तथा पुनर्बीमा कम्पनीले दिनुपर्ने भुक्तानी दिइसकेका छन् । बीमा समितिले समेत दिनुपर्ने १ अर्ब भुक्तानी भइसकेको छ। अब सरकारले दिनुपर्ने रकम नआएपछि बीमा कम्पनीहरुबाट हुने दाबी भुक्तानी अवरुद्ध हुन पुगेको हो।
असारदेखि कोरोना बीमा कार्यक्रम सञ्चालन नहुने
गत वर्ष वैशाखदेखि लागू गरिएको कोरोना बीमाको अवधि असारदेखि सकिने भएको छ। १९ निर्जीवन बीमा कम्पनीहरूले संयुक्त रूपमा पुल मार्फत कोरोना बीमा योजना सञ्चालनमा ल्याएका थिए। यसअघि कोरोना बीमा गरेकाले असारसम्म आवेदन दिएमा मात्रै दावी भुक्तानी पाउने छन्। बीमा गरे पनि त्यसपछि आवेदन दिनेहरूले भुक्तानी दावी गर्न पाउने छैनन्।
साढे तीन अर्ब रूपैयाँ जुटेपछि बाँकी रकम नेपाल सरकारले बेहोर्ने गरी मापदण्ड तयार भएको थियो। तर सरकारले समयमै भुक्तानी नदिँदा सर्वसाधारणले दावी भुक्तानी पाउन ढिला भएको छ।
कोरोना बीमाको रकम पाउन ढिला भएको गुनासो बढेका बेला सरकारले एकमुष्ट रकम निकासा नगर्दा प्रक्रिया पूरा गरिसकेका व्यक्तिले समेत रकम पाउन सकेका छैनन्।
गत चैत ३० गतेसम्मको तथ्यांकअनुसार कागजात प्रमाणित भइसकेका ३१ हजारले अझै रकम पाउन सकेका छैनन्। उनीहरूलाई भुक्तानी गर्न करिब तीन अर्ब रूपैयाँ आवश्यक पर्छ। हालसम्म ६० हजार ५ सय ८७ जनाले मात्रै कोरोना बीमाको रकम पाएका छन्। उनीहरूलाई कुल पाँच अर्ब ८५ करोड १५ लाख रूपैयाँ भुक्तानी भइसकेको समितिको तथ्यांक छ। बीमा कम्पनीमा दावीका लागि आवेदन र कागजात परिसकेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट संक्रमण भएरनभएको पुष्टि गरेपछि मात्रै दावी भुक्तानी गरिन्छ।
हाल महाशाखामा १८ हजार बढी आवेदक पुष्टि हुने प्रक्रियामा छ। त्यस्तै परेका आवेदनमध्ये ६६६ जनालाई भुक्तानी नहुने भएको छ। दोहोरो बीमा गरेकाले एउटा आवेदनको मात्रै रकम पाउँछन्। त्यस्तै नागरिकतामा एउटा नाम हुने, परीक्षणका बेला नाम अर्कै लेखाउनेले पनि बीमा रकम पाउँदैनन्। तसर्थ केही आवेदन रद्द भएका बीमक संघले जनाएको छ।