free website hit counter

नेपाल लाइफ २१औं वर्षमा

beemaadmin
२०७८ बैशाख २२, बुधबार

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको गौरवमय २० वर्ष पुरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । कम्पनी २०५८ साल वैशाख २१ गते स्थापना भएको थियो । देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पु¥याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीको दावी छ ।
करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको कम्पनीले जनाएको छ । कम्पनीमा सर्वाधिक लगानी १११.४७ अर्ब रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमा कोष १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक सेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीको सर्वाधिक चुक्ता पुँजी ७.१९ अर्ब भन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढि सर्वाधिक बजार पुँजीकरण रहेको छ । यस कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी ११.९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी ९.७७ अर्ब तथा सर्वाधिक मृत्यु दावी ३.७३ अर्ब भन्दा बढि भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीमा १,७६,०४३ भन्दा बढी प्रशिक्षित अधिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बिमित भइसकेका छन् ।
२१ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यो उचाइसम्म ल्याई पुर्याउनमा निरन्तर विश्वासका साथै सदैव साथ एवं उचित मार्गनिर्देश दिने नियमनकारी निकाय, संचालक समिति, सेयरधनी लगायत सबैमा कृतज्ञताका व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत प्रसाईले यस कोरोना भाइरसको महामारीमा पनि सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्न कम्पनीले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाए । नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।

सम्बन्धित समाचार