काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासभित्र सबैजसो सूचांकमा प्रगति गरेको छ । कम्पनीको खुद बीमाशुल्क र नाफा दुबैमा उल्लेख्य सुधार भएको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद बीमाशुल्क ११५.६० प्रतिशत र खुद नाफा १४८.३४ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेको हो । प्रभु लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ८ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५० करोड ४८ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १८ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा पनि १४८।३४ प्रतिशतले बढेर १३ करोड ७८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सर्वसाधरणलाई आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको जगेडा कोषमा ३६ करोड ६० लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब ७६ करोड ५८ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा २ करोड ५७ लाख रुपैयाँ सञ्चित छ । चालु आर्थिक वर्षको चैत सम्ममा कम्पनीले एक लाख ७ हजार ३१६ वटा बीमालेख जारी गरी एक अर्ब १३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।