काठमाडौं । कारोना संक्रमणले आतंकै सिर्जना गर्ने अवस्था आएपछि सरकारले सेवाको प्रकृति हेरेर खुल्ने र बन्द गर्ने निर्णय गरेको छ । यही बेला नियामक निकाय बीमा समितिले जेठ १३ गतेसम्म बीमा कम्पनीहरुको शाखा कार्यालय बन्द गर्न निर्देशन दिँदै केन्द्रिय कार्यालय पनि १० जनाले मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, काठमाडौको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश अनुसार बैंशाख २९ गतेदेखि जेठ १३ गतेसम्मका लागि काठमाडौं जिल्लाभर निषेधाज्ञा जारी भएकोले यस्तो निर्देशन जारी गरिएको समितिले जनाएको छ । बीमा कम्पनीहरुले आफ्नो केन्द्रिय कार्यालय सञ्चालन गर्न र बीमा सेवा निर्वाध रुपले प्रवाह गर्न जनस्वास्थ्य र सुरक्षाका सम्पूर्ण मापदण्ड अबलम्बन गरी बढीमा दश जनासम्म कर्मचारी उपस्थित गराई सुरक्षित रुपले सेवा प्रवाहको व्यवस्था सुनिश्चित गर्न समितिले निर्देशन दिएको छ । बीमा सेवा सूचारु गर्नका लागि समितिबाट बीमा कम्पनीहरुका लागि पहेलो रंगको सवारी पास उपलब्ध गराइने भएको छ ।