काठमाडौं । नेपाली बीमा बजारमा अर्को पुनर्बीमा कम्पनी पनि थपिएको छ । बीमा समितिले पाँच वटा कम्पनीले दरखास्त हालेकोमा विशाल ग्रुप र त्रिवेणी ग्रुपको लगानी रहेको हिमालयन रिइन्स्योरेन्सलाई सोमबार स्वीकृति दिइएको हो । हिमालय रि–इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरलगायतको लगानी छ । त्यसैगरी शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल,केएल दुगड ग्रुपका विकास दुगड,दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता तथा अन्य केही नाम चलेका व्यावसायिक घरानाका व्यक्तिहरुको समेत कम्पनीमा आवद्धता रहेको बताइन्छ । अनुमतिको काममा हर्ताकर्ता भने विष्णु अग्रवाल देखिएका छन् । बीमा समितिले निजी क्षेत्रको लगानी भएको थप एक पुनर्बिमा कम्पनीको आह्वान गरेको गत बैशाखको सूचनामा पाँच कम्पनीले निवेदन दर्ता गरेका थिए । त्यसमा प्रुडेन्सियल रि–इन्योरेन्स,अन्नपूर्ण रि–इन्स्योरेन्स,काठमाडौं रि–इन्स्योरेन्स र जेन्युइन रि–इन्योरेन्सले समेत प्रस्ताव दर्ता गरेका थिए । पुनर्बिमा कम्पनीको अधिकृत पुँजी ८ अर्ब रुपैयाँको हुनुपर्ने व्यवस्था छ । बैंक सरहको कम्पनी भएकाले यसको अनुमति प्रदान गर्ने खेलमा धेरै दौडधुप भएको देखिन्छ ।
अध्यक्ष बन्ने दौडमा शेखर
हिमालयन रि इन्स्योरन्स कम्पनीको अध्यक्ष बन्न नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अगाडि सरेका छन् । त्यसैका लागि उनले यूनियन लाइफको सञ्चालक पद छाडेका छन् ।