काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा परीक्षण घटेसँगै संक्रमित घटे पनि संक्रमितको प्रशित बढ्दो अवस्थामा रहेका कारण अझै एक साता निषेधाज्ञा थप्ने तयारी भइरुहेको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएको हो। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ। हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन्।तर निषेधाज्ञा केही खुकुलो भने हुनसक्ने बताइएको छ । निषेधाज्ञामा निर्माणजन्य कार्यलाई निरन्तरता दिइने छ। बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने छ। उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी गरिएको थियो। यो तीन दिनपछि सकिँदैछ। त्यसको पूर्वसन्ध्यामा छलफलहरू भइरहेको पराजुलीले बताए। जेठ ३१ सम्म जारी निषेधाज्ञापछि यसको मोडालिटीमा परिवर्तन ल्याइने सक्ने र सवारीसाधनमा जोरबिजोर लगाउन सकिने बताइएको थियो। निषेधाज्ञा लम्ब्याउनुको कारणमा भिडभाड नै प्रमुख कारण रहेको पराजुलीले बताएका छन् ।