काठमाडौं । सार्वजनिक सवारी नचलाई निजी सवारीमा जोर बिजोर लगाउँदै विस्तार सहज वातावरणमा फर्किने प्रयास जारी रहेको छ । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी,भाँडा पसल, मोबाइल पसल पनि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न दिइने भएको छ । आइतबार उपत्यकाका तीनै सिडिओको बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर,फेन्सीका पसलहरु खुल्नेछन् । यी पनि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्नेछन् । खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ । निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ । अहिलेको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म कायमै छ । त्यस्तै ट्याक्सीमा भने तीन जना मात्रै यात्रु राख्न पाइनेछ भने अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।