काठमाडौं । जीवन बीमाको व्यवसायमा आफूलाई स्थापित गर्न सफल सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार अधिकांश सूचकमा प्रगति गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४ अर्ब १८ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.९७ प्रतिशत बढी हो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा २३.०१ प्रतिशत बढेर ३२ करोड ३२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा ५ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको यस इन्स्योरेन्सको जगेडा कोष समीक्षा अवधिमा २५.२५ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा इन्स्योरेन्सको जीवन बीमा कोष ४३.५४ प्रतिशत र महाविपत्ति कोष ३३.७८ प्रतिशत बढेको छ। इन्स्योरेन्सले सो अवधिसम्ममा जीवन बीमा धितो बापत १ अर्ब १६ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरी १० लाख ८ हजार रुपैयाँ आम्दानी गरेको छ।