काठमाडौ । धितोपत्र बजारमा अर्को ठूलो कम्पनीको आइपीओ थपिन लालगेको छ । निजी क्षेत्रबाट सञ्चालिन पहिलो पूनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले ३ अर्ब रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न प्रथम साधारण सभाले थप ३ अर्ब रुपैयाँ पूँजी जुटाउनको लागी सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय गरेको हो । गत असार ३१ गतेबाट कारोबार शुरु गरेको हिमालयन रिको संस्थापकहरुले ७ अर्ब रुपैयाँ पूँजी लगानी गरिसकेका छन् ।अधिकृत पूँजी २१ अर्ब रुपैयाँ कायम गर्दै तत्काललाई चुक्ता पूँजी १० अर्ब कायम गर्ने निर्णयसँगै साधारण शेयर जारी गर्ने निर्णय प्रस्ताव समेत पारित गरेको हो । प्रथम वार्षिक प्रतिवेदनका अनुसार कम्पनीले संचालनको छोटो अवधिमा झण्डै १ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । प्रथम साधारण सभाबाट पारित आव ०७७–७८ को वार्षिक प्रतिवेदन अनुसार हिमालयन रिले ९४ लाख २६ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
२१ अर्ब अधिकृत, १० अर्ब जारी र ७ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको बीमाकोषमा गत असार मसान्तसम्ममा ४८ लाख १९ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीले आगामी आर्थिक वर्ष २०७९-८० मै ३ अर्ब रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेर चुक्ता पूँजी १० अर्ब रुपैयाँ पु¥याउने अध्यक्ष शेखर गोल्छाले घोषणा गरेका छन् ।