free website hit counter

हकप्रद जारी गर्दै ४ कम्पनी

beemaadmin
२०७८ पुष ५, सोमबार

काठमाण्डौ । दुई विकास बैंकसहित ४ कम्पनीले केही समयभित्रै हकप्रद शेयर निष्कासन गर्ने भएका छन् । नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र छ्याङ्दी हाइड्रोपावरले आफ्ना सेयरधनीहरुलका लागि हकप्रद निष्कासन गर्ने तयारी गरिरहेका हुन्। यी कम्पनीले नेपाल धितोपत्र बोर्ड हकप्रद जारीका लागि अनुमति पाइसकेका छन्।
यी ४ कम्पनीले सेयरधनीहरुका लागि कुल ७९ लाख ३५ हजार ६८ कित्ता हकप्रद जारी गर्नेछ। यीमध्ये नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सले हकप्रद जारी गर्नका लागि बुक क्लोजको मिति पनि तय गरिसकेका छन्। नारायणी डेभलपमेन्ट बैंकले आउँदो पुस ७ गतेबाट १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने मिति पनि तय गरिसकेको छ। जसअनुसार बैंकले १०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गर्नेछ। यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट आवेदन दिन मिल्छ।
नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले गत मंसिर ३ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो। हकप्रद निष्कासन प्रयोजनार्थ बैंकले गत मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो। यसको अर्थ मंसिर २३ गतेसम्म कायम सेयरधनीहरु यो बैंकको हकप्रदमा आवेदन दिन योग्य भएका छन्।
यसैगरी समृद्धि फाइनान्सले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ यही पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो।
समृद्धि फाइनान्सले २ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गर्नेछ।

यसैगरी नेपाल धितोपत्र बोर्डले गत पुस १ गते छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासनको अनुमति दिएको छ।
सेबोनको अनुमति पाएसँगै छ्याङ्दी हाइड्रोपावरले १०ः३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयरधनीहरुका लागि निष्कासन गर्नेछ।
यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले १ः१.५ अनुपातमा ३० करोड रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। बैंकले १०० अंकित दरका कुल ३० लाख कित्ता हकप्रद जारी गर्नेछ।

सम्बन्धित समाचार