काठमाडौँ । कानुनका अगाडि सबै बराबर हुन्छन् । मन्त्री भइसकेका र आईजीपी भइसकेका व्यक्ति जेलमा बस्दा पनि कानुनले गर्ने व्यवहार सबैलाई बराबर हो । नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि दमौलीमा रहेको कारागारमा रहेका अभिनेता पल शाह जेलको बि ब्लकमा छन्। जिल्ला अदालत तनहुँको आदेशमा बिहीबार बेलुका सात बजेर १५ मिनेटमा प्रहरीले उनलाई जेल प्रशासनलाई बुझाएको थियो। प्रशासनले उनलाई जेलको स्थान हेरेर बि ब्लकमा राखेको छ। बि ब्लकमा उनीसँगै १ सय ६८ जना कैदी बन्दी छन्। जेल प्रशासनका अनुसार सो ब्लकको बसाई सामूहिक भएकाले पल पनि सामूहिक बसाइमै छन्। यहाँ जो आए पनि छुट्टै बस्न पाउने सम्भावना छैन। जेलभित्र भएकाहरूसँग घुलमिल भएर बस्नैपर्ने अवस्था रहेको बताइन्छ । कलाकार भएकाले भेट्न चाहनेको भिड हुनसक्ने भन्दै जेल प्रशासनले परिवारका सदस्य र नातेदारलाई मात्र भेट्न दिइरहेको छ। उनी जेलमा पुगेपछि उनको परिवारका सदस्य मात्रै भेट्न आएका छन्। उनीहरूले जेलभित्र लैजान सकिने बन्दोबस्तीका सामाग्री दिएका थिए। जेलभित्र आफैँ एक्लै पकाएर खान वा सामूहिक मेसमा खान सकिन्छ। जेल प्रशासनले जेलमा रहेकालाई दैनिक ६० रुपैयाँ र सात सय ग्राम चामल दिन्छ खान्कीमा। सामूहिक मेस भित्रै रहेका कैदीरबन्दीले चलाउँछन्। त्यसका लागि नाइके, भाइ नाइके तोकिएको हुन्छ। पलले मेसमै खाना खाइरहेको बताइएको छ ।