काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले बढ्दो ब्याजदर र चालु पुँजी कर्जा मार्गदर्शनविरुद्ध उद्योगी–व्यवसायीहरुले गरिरहेको आन्दोलन आसन्न निर्वाचनसम्म स्थगित गर्न आग्रह गरेको छ। महासंघका पदाधिकारीहरुको बैठकले उद्योगीव्यवसायीहरुलाई निर्वाचनसम्म आन्दोलन रोक्न आग्रह गरेको हो। अहिले देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्।
महासंघले उद्योगीव्यवसायीहरुको मागहरुप्रति ऐक्यबद्धता जनाउँदै निर्वाचनसम्म सबै किसिमका आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेको बैठकमा सहभागी एक पदाधिकारीले बताए। मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि महत्वपूर्ण छ, ती पदाधिकारीले भने, त्यसैले निर्वाचन सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन पनि आग्रह गरेका छौँ।
यसैगरी महासंघले निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र कात्तिकदेखि लागू गरिएको चालु पुँजी कर्जा मार्गदर्शन हाललाई स्थगित गर्न पनि माग गरेको छ। बढ्दो ब्याजदर र चालु पुँजी कर्जा मार्गदर्शनमा गरिएको व्यवस्थाले उद्योगीव्यवसायी मारमा परेको महासंघको ठहर छ। बैठकले निर्वाचनपछि उद्योगीव्यवसायीका माग सम्बोधन नभए महासंघले थप कार्यक्रम घोषणा गर्ने निर्णय पनि गरेको छ।