काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको निधन भएको छ। हिराबेनको सय वर्षको उमेरमा शुक्रबार बिहान गुजरातको अहमदाबादमा निधन भएको हो। आमाको निधनको खबर आएसँगै प्रधानमन्त्री मोदी दिल्लीबाट अहमदाबाद पुगेका छन्। श्वासमा समस्या देखिएपछि मंगलबार उनलाई अहमदाबादस्थित युएन अस्पतालको कार्डियोलोजी एन्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो। मोदी अहमदाबाद पुग्नुअघि सामाजिक सञ्जाल ट्विटरमा आमालाई श्रद्धाञ्जली दिएका थिए। उनले भनेका छन्,‘सानदार शताब्दीकी इश्वर चरणमा विराम‘आमामा मैले सँधै मैले त्यो त्रिमूर्तिको अनुभूति गरेँ, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित रह्यो।’ आमाप्रति श्रद्धाञ्जली दिँदै फेरि अर्को ट्विट गरेका छन्। भनेका छन्,‘सयौं जन्मदिनको अवसरमा मैले उहाँलाई भेट्दा उनले एउटा कुरा भनेकी थिइन– काम गर बुद्धिले र जीवन बिताऊ शुद्धिले।’ हिराबेनले सन् २००२ मै मोदी भारतको प्रधानमन्त्री बन्ने भनेर भविष्यवाणी गरेकी थिइन्। हिराबेनको पार्थिव शरीरलाई मोदीको कान्छो भाइ पंकज मोदीको घरमा ल्याइएको छ। उनी पंकजकै घरमा बस्ने गरेकी थिइन्। हिराबेनको निधनप्रति सत्तारुढ भारतीय जनता पार्टीका साथै अरू राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्। गृहमन्त्री अमित शाह, उत्तर प्रदेसका मुख्यमन्त्री योगी आदित्यनाथ, रक्षामन्त्री राजनाथ सिंहलगायतका नेताहरूले हिराबेनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। हिराबेनको निधनप्रति श्रद्धाञ्जली दिन भारतीय जनता पार्टीका साथै अरू क्षेत्रका हस्तिहरू अहमदाबाद पुग्ने बताइएको छ।