free website hit counter

चुनौतिको सामना गर्ने मन्त्री भण्डारीको घोषणा

beemaadmin
२०७९ माघ ४, बुधबार

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग धन्दाको विकासबाट मात्रै व्यापारघाटा न्यूनिकरण गर्न सकिने बताउनुभएको छ । मंगलबार पदबहाली गर्दै मन्त्री भण्डारीले मन्त्रालयका थुप्रै चुनौतीहरु देखिए पनि त्यसलाई सबैको प्रयासबाट समाधान गर्दै अघि बढ्ने बताउनुभएको थियो । आफू विशिष्ट परिस्थितिमा मन्त्री भएको बताउँदै उहाँले साझा मुद्दामा सत्ता साझेदार दलहरुबीच सहमति गरेर अगाडि बढ्ने बताउनुभएको थियो । आफ्नै विवेकबाट समस्याको शुक्ष्म विश्लेषण गर्दै अगाडि बढ्ने बताउँदै उहाँले यस मन्त्रालयमा प्रशस्तै सम्भावनाका ढोकाहरु रहेको बताउनुभयो । विगतमा अर्थराज्यमन्त्रीको समेत भूमिका निर्वाह गरिसक्नुभएका मन्त्री भण्डारी बैतडीबाट तीन पटक निर्वाचित भइसक्नुभएको छ । यसअघि पनि सुदूरपश्चिम क्षेत्रकै मन्त्रीहरुले उद्योग मन्त्रालयको नेतृत्व सम्हाल्न अवसर पाइसकेका छन् । लेखराज भट्ट, कर्णबहादुर थापा हुँदै पछिल्लो समय दिलेन्द्रप्रसाद बडुले सम्हालेको उक्त मन्त्रालय भण्डारीको नेतृत्वमा आइपुगेको छ । मन्त्री भण्डारीले अग्रज नेतृत्वको अनुभव र सबल पक्षलाई सम्मान गर्दै अघि बढ्ने र उहाँहरुसँगको छलफलबाटै मन्त्रालययको काम कारबाहीलाई प्रभावकारी बनाउन आफू अग्रसर रहेको बताउनुभयो । रुग्ण उद्योगहरुको प्रभावकारी सञ्चालन, चालु अवस्थाका उद्योगहरुका लागि सहज वातावरण बनाउन निजी क्षेत्रसँग आफू सहकार्य गर्न तयार रहेको कुरामा उहाँले जोड दिनुभयो ।

सम्बन्धित समाचार