free website hit counter

५८ अर्ब बीमा दाबी भुक्तानी हुँदा २३ अर्ब बाँकी

beemaadmin
२०८० असार ७, बिहीबार

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरण र बीमकहरुको प्रयासका कारण बीमा दाबी भुक्तान सहज हुँदै गएको छ । झन्झटिला प्रक्रिया क्रमशः सहज बन्दै जाँदा आम नागरिकमा बीमाप्रतिको आकर्षण बढेको छ भने दाबी भुक्तानीमा सहजता भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा कुल दाबी मध्ये ७१ प्रतिशत दाबी बापतको रकम भुक्तानी भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कुल दाबी मध्ये ७१।१५ प्रतिशत भुक्तानी गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमा कुल ८१ अर्ब ४९ करोड ५३ लाख रुपैयाँ बराबरको दाबी परेको थियो । त्यसमध्ये दाबी बापत बीमा कम्पनीहरुले ५७ अर्ब ९९ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले अझै २८.८५ प्रतिशत अर्थात २३ अर्ब ५० करोड ३४ लाख रुपैयाँ दाबी बापत भुक्तानी गर्न बाँकी देखिएको हो ।
जीवन बीमा कम्पनीहरुको ४ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले १८ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ गरी सो बराबरको रकम भुक्तानी गर्नुपर्ने देखिएको हो । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीलाई थप तिब्रता दिन थालेको छ । प्राधिकरणले प्रस्तावित बीमा नियमावलीमा थप व्यवस्था गर्दै बीमा दाबी भुक्तानीलाई छिटो छरितो र सहज बनाउने भएको हो । निर्देशिकाको व्यवस्था अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले दाबी परेका सात दिन भित्र भुक्तानी गर्नुपर्नेछ । नियमावलीको दाबी भुक्तानी सम्बन्धी व्यवस्थानमा जीवन बीमा तर्फ बीमालेख परिपक्व हुनुभन्दा सात दिन अगावै दाबी भुक्तानीको लागि बीमित वा बीमालेख धारकको नाममा लिखित सूचना जारी गर्नुपर्नेछ । बीमितले जीवन बीमाको दाबी भुक्तानीका लागि पेश गरेको कागजातहरु आवश्यक जाँचबुझ गरी जीवन बीमालेखको अवधि भुक्तान भएको सात दिन भित्रै दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।
कुनै जीवन बीमालेखको अवधि समाप्त हुनु अगावै बीमितको मृत्यु भएमा दाबी सम्बन्धी विवरण, बीमितको मृत्यु दर्ता प्रमाणपत्र, दुर्घटनाबाट बीमितको मृत्यु भएको कारण सम्बन्धमा शव परिक्षणको प्रतिविदन र सो नभए प्रहरीको प्रतिवेदन, बीमित संगको नाता प्रमाण, उमेर प्रमाणित नभएको अवस्थामा उमेर प्रमाणित गर्ने कागजातहरु सहित दाबी भुक्तानीको लागि आवेदन दिनु पर्दछ । निवेदन प्राप्त भएपछि बीमा कम्पनीले दाबीका लागि प्राप्त भएका कागजातहरुको छानबीन गरी, त्यस्ता कागजात प्राप्त भएको मितिले १५ दिनभित्र दायित्व निर्धारण दाबी भुक्तानी लिन सूचना जारी गर्नुपर्दछ । सूचनामा निवेदकले सहमति जनाएमा तीन कार्यदिन भित्र बीमकले दाबी भुक्तानी गर्नुपर्नेछ । निर्जीवन बीमा तर्फ पनि बढीमा सात दिन भित्रै दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । निर्जीवन बीमामा सर्भेयरले प्रतिविेदन पेश गरेको सात दिन भित्र बीमा कम्पनीको दाबी फस्र्यौट गर्नुपर्ने व्यवस्था रहेको छ ।
बीमा गरिएको बस्तु तथा सम्पतीमा क्षति भएपछि बीमितले बीमा कम्पनीले क्षतिको खबर वा जानकारी गर्नुपर्दछ । क्षतिका खबर प्राप्त गरेपनि दाबी सहजीकरण गर्न र बीमितलाई सहयोग गरी दाबी फारम सहित आवश्यक कागजात एक मुष्ट माग गर्नुपर्दछ । सर्भेयरले प्रतिवेदन पेश गरेको सात दिन भित्र बीमा दाबी फस्र्यौट गर्ने पर्ने र दाबी भुक्तानी गर्नु नपर्ने भए सोहि अवधि भित्रै दाबीकर्तालाई लिखित जानकारी गराउनु पर्ने व्यवस्था निर्देशिकामा छ ।

सम्बन्धित समाचार