free website hit counter

रुखले जोगायो ४० जनाको ज्यान

beemaadmin
२०८० असार २९, शुक्रबार

काठमाडौं । चालकदल र यात्रुसहित ४० जना बोकेर काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००क६ ख ५२३७ नम्बरको बस शुक्रबार बिहान नारायणगढ–मुग्लिङ सडकअन्तर्गत दासढुंगामा आइपुग्दा सडकबाट खस्यो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा १९ जना सामान्य घाइते भएका छन्। बस सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ। तर बस सडकको डिलमा रहेका बाँसको झाङ र रुखमा अड्कियो र ५० मिटर तल रहेको त्रिशुली नदीमा खस्न पाएन। जसका कारण १९ जना सामान्य घाइते भए पनि ४० जनाको ज्यान जोगिएको हो। बस नदीमा खस्नबाट जोगिएका कारण यात्रुको उद्धार गर्न सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताए। घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज र भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता पण्डितले बताए। यस्तै, दुर्घटनामा घाइतेहरुको विवरण खुलेको छ। जसमा भारत सिलगुडी बस्ने बर्ष ६० की कमला सुब्बा, भारत सिलगुडी बस्ने बर्ष ४४ की लक्की सुब्बा, मोरङ हरैचा नगरपालिका–३ बस्ने बर्ष २३ को सुसान्त सुब्बा, हरैचा ८ बस्ने बर्ष ३४ की सुनिता लामीछाने, सुनसरी बस्ने बर्ष ४० की संगिता मगर रहेका छन्। यस्तै, झापा मेची नगरपालिका–११ बस्ने बर्ष ३२ की सुमिमा राई, भक्तपुर भक्तपुर–१ बस्ने बर्ष ३० को मिलन तामाङ, ललितपुर गोदावरी नगरपालिका–७ बस्ने बर्ष २७ को सुमन लामा, भोजपुर अरुण गाउँपालिका–१ बस्ने बर्ष २९ को नन्द बहादुर पाण्डे सोहि ठाउँ बस्ने बर्ष १९ को लिला बहादुर पाण्डे रहेको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए। यस्तै, सहचालक सर्लाही लालबन्दी नगरपालिका–१० बस्ने बर्ष ३६ को बिक्रम मगर, धादिङ निकण्ठ ७ बस्ने बर्ष ३६ को दिल बहादुर श्रेष्ठ, सुनसरी रक्तमाला–५ बस्ने बर्ष २९ की मनिका राई, मोरङ हरैचा–५ बस्ने बर्ष २५ की कल्पना राई, सोहि ठाउँ बस्ने बर्ष २५ की सपना राई, धनकुटा सहिदभुमी–४ बस्ने बर्ष ३८ की बिश्वलक्ष्मी राई, उनकी छोरी बर्ष ४ की दिब्या राई रहेका छन्। यस्तै, बस चालक, मकवानपुर हेटौंडा–२ बस्ने बर्ष ३७ को बादल कुमाल र धादिङ रुबीभ्याली गाउँपालिका४ बस्ने बर्ष ३२ को दिपक तामाङ तामाङ रहेका छन्। घाइतेहरुको चितवनकै विभिन्न अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सम्बन्धित समाचार