free website hit counter

यस्ता जनप्रतिनिधि र कर्मचारी सबैतिर भैदिए

beemaadmin
२०७६ पुष १८, शुक्रबार

अर्घाखाँची । अधिकांश नगरपालिका र गाउँपालिकाका मेयर÷उपमेयर तथा अध्यक्ष÷उपाध्यक्षबीच खटपट रहेको, समन्वय काम हुन नसकेको कारणले त्यो विवाद छताछुल्ला अवस्थामा पुगेका समाचार पनि बेला बेला नआएका होइनन् । राजनीतिक नेतृत्व र कर्मचारीबीच समन्वय हुन नसक्दा नगरपालिका र गाउँपालिकाले गति लिन नसकेको, द्वन्द्व सिर्जना हुने गरेको तथा कर्मचारी टिक्न नसकेका घटनाहरु पछिल्ला समयमा बिकराल बन्दै गएको छ । तर अपवाद नै मान्नुपर्छ, अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका भने यी समस्याहरुबाट मुक्त छ । गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल र उपप्रमुख तुलसीदेवी श्रेष्ठबीचको सम्बन्ध सुमधुर भएकै कारण आज त्यो गाउँ पालिकाले विकास निर्माण लगायत अन्य कार्यक्रमहरुमा फड्को मारेको छ भने कर्मचारी नेतृत्व र राजनीतिक नेतृत्वबीचको सम्बन्ध पनि नङ र मासुको जस्तै रहेको अवस्था छ ।

गाउँपालिकाका अध्यक्ष पोखरेलले आफू र उपप्रमुखबीचको सम्बन्ध र कर्मचारीसँगको समन्वय र सहकार्यका कारणले गर्दा नै आज यो गाउँपालिका देशभरका ४ सय ६० गाउँपालिकामध्ये उदाहरणीय काम गर्न सफल भएको बताउनुभयो । धेरै सूचांकहरुमा अगाडि आउनुमा कर्मचारीको साथ सहयोग रहेको उहाँको भनाई थियो । त्यस्तै गाउँपालिकाका उपप्रमुख तुलसीदेवी श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीबीचको असल सहकार्यका कारण गाउँपालिकाले सोचेअनुसारको प्रगति हासिल गर्न सफल भएको बताउनुभयो । उहाँले हरेक कुरामा अध्यक्षले आफूसँग सल्लाह, सुझाव लिने गरेको र आफूले पनि अध्यक्ष र कर्मचारीहरुसँग सहयोग लिने गरेका कारण अन्यत्रका स्थानीय तहमा राजनीतिक नेतृत्व र कर्मचारीबीच देखिएका द्वन्द्वका समस्या यहाँ बिल्कुलै नदेखिएको बताउनुभयो ।

उहाँको भनाई थियो, जनप्रतिनिधि र कर्मचारी एक रथका दुई पाङ्गा जस्तै भएर गाउँपालिकालाई अगाडि बढाइरहेका छौं, जनप्रतिनिधिको साथ सहयोग कर्मचारीलाई, कर्मचारीको साथ सहयोग जनप्रतिनिधिलाई मिलेपछि केको विवाद आउथ्यो ? त्यस्तै उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले पनि जनप्रतिनिधिहरुको साथ सहयोगले नै कर्मचारीले उच्च मनोबलका साथ काम गर्न सफल भएको र आज छत्रदेवको चर्चा र प्रगति छ त्यसमा कर्मचारी र जनप्रतिनिधिको साथ सहयोग नै मूल कारण रहेको र यसमा स्थानीय नागरिकको पनि उत्तिकै विश्वास र साथ रहेको बताउनुभये । त्यस्तै वडा नं. ६ का वडाध्यक्ष कमल पौडेलले पनि जनप्रतिनिधिहरुबीच तथा जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध सुमधुर रहेको कारण छत्रदेव गाउँपालिकाको विकासले फड्को मारिरहेको बताउनुभयो ।

अधिकांश मुद्दा फस्याेट 
न्यायिक समितिको समेत संयोजक रहनुभएकी उपाध्यक्ष तुलसीदेवी श्रेष्ठले अहिलेसम्म न्यायिक समितिमा २७ वटा विभिन्न प्रकृतिका मुद्दा परेका र पाँच वटा मुद्दाको मात्र फस्र्योट हुन बाँकी रहेको बताउनुभयो । गाउँपालिकामा कानुन क्षेत्रका विज्ञ कर्मचारी नहुँदा काम गर्न अप्ठ्यारो भएको र जनप्रतिनिधिहरुसँग खासै कानुनी ज्ञान नहुने भएका कारण गाउँपालिकामा कानुनी क्षेत्रका कर्मचारी भएमा काम गर्न सहज हुने उहाँको धारणा थियो ।

चुनौती र अप्ठ्यारहरु थुप्रै छन् तर ती चुनौती छन् भन्दैमा काम गर्न छाड्नु भएन । दर्ता भएका कतिपय मुद्दा प्राविधिक प्रकृतिका हुने कारणले पनि आफूहरुलाई निर्णय गर्न गाह्रो हुने गरेको उहाँको धारणा थियो । न्यायिक समितिलाई विभिन्न प्रकृतिका १३ वटा मुद्दा हेर्ने अधिकार छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार