free website hit counter

बालेनको घरमा पसेका चोरले सामान पोको पारेपछि स्याउ–सुन्तला खाएर बाटाे लागे

beemaadmin
२०८२ माघ २७, मंगलवार

काठमाडौं । माघ १५ मा राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले भाडामा लिएको घरमा चोरी भयो । काठमाडौँ महानगरपालिका–४ स्थित मण्डिखाटारमा सीतादेवी गुरुङको घरमा बालेनले भाडामा लिएको निवासमा चोरी भएको घटना १६ गते साँझ मात्र थाहा भयो । डेरामा बत्ती बाल्न जाँदा साहका नातेदारले ढोका खुलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । चोरीमा संलग्न आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो । दुई जना चोरीको समान व्यवस्थापन गरेको आरोपमा पक्राउ परेका हुन् । चोरीमा संलग्न मुख्य आरोपी ४२ वर्षीय मनिष राजवाहक हुन् । काठमाडौँ महानगरपालिका–१६ बालाजु हाइट घर भएका राजवाहक बाँसबारीमा बस्दै आएका थिए । माघ २३ मा उनलाई बाँसबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए । साहको घर चोरी गरेपछि राजवाहक बाँसबारी स्थित क्लासिक एण्ड लज इन गेस्ट हाउसमा बस्दै आएका थिए । माघ १५ मा राति १० बजेतिर राजबाहक एक्लै बालेनको घरमा छिरे । सीसीटीभी फुटेजमा उनी एक्लै छिरेको देखिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । करिब ४५ मिनेटपछि राजवाहक झोलामा चोरीको सामान लिएर निस्केको देखिएको छ । आरोपीले सीसीटीभी क्यामेरा, धाराका टुटी, डीभीआर र सुनका गहना चोरी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । चोरी गरेपछि उनले किचनमा भएको स्याउ खाए । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, भोक लागेको थियो, स्याउ र सुन्तला खाएर निस्किएँ । राति भैसकेको र त्यसबेलासम्म घरका मानिसहरू नआएपछि उनले ढुक्कले चोरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । करिब ४५ मिनेट बिताएर राजबाहक निस्केर हिँडेका थिए । प्रहरीले सोधपुछ गर्दा उनले भनेका छन्, धाराको टुटी खोल्न निकै समय लाग्यो । छतमा पुगेर ट्यांकी बन्द गरेर उनले दुई वटा धाराको टुटी निकालेर लगेको भेटिएको छ । जेनजी आन्दोलन हुँदा भदौ २४ मा राजवाहक नक्खु कारागारबाट भागेका थिए । चोरेको सामान उनले दुई जनालाई व्यवस्थापन गर्न दिएको भेटिएको छ । सामान व्यवस्थापनमा संलग्न सिन्धुपाल्चोक घर भएका ४६ वर्षीय खिमबहादुर खड्का र डोटी घर भएर धादिङ धुनिबेशी नगरपालिका–७ बस्ने ४५ वर्षीय संजय श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । संजय श्रेष्ठ पनि राजवाहकसँगै नख्खु कारागारमा थिए । उनी पनि भदौ २४ मा जेलबाट फरार भएका हुन् । राजवाहकले चोरेको डेल कम्पनीको ल्यापटप र म्याक बुक श्रेष्ठलाई दिएका थिए । चोरेको मोबाइल, ल्यापटप, आइप्याड लिएर श्रेष्ठले राजवाहलाई खर्च दिने गरेको अनुसन्धानबाट थाहा भएको छ । श्रेष्ठको साथबाट चोरीको ल्यापटप बरामद गरिएको एसपी भट्टराईले जानकारी दिए । खिमबहादुर खड्काले शान्तिनगरमा बालुवा डिपो चलाएका छन् । पहिले राजवाहक त्यही डिपोमा काम गर्थे । चोरेको सुनचाँदी उनले डिपोवालाई दिन्थे । सामान बेचेर खड्काले रकम आधा आधा बाँड्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । साहको घर चोरीमा संलग्न राजवाहक ३ वटा चोरीको घटनामा संलग्न रहेको भेटिएको छ । पेन्टरको काम पनि गरेका उनले खड्काको डिपोमा दुई महिना काम गरेका थिए । उनले साहको डेरामा चोरी गरेको प्रहरीसँग स्वीकार गरेका छन् । २०७२ जेठमा उनीविरुद्ध कालिमाटीबाट सार्वजनिक अपराध र २०७२ असारमा महाराजगञ्जबाट चोरी मुद्दा चलेको भेटिएको छ ।

सम्बन्धित समाचार