free website hit counter

प्रक्षेपणभन्दा विपरीत अवस्थामा बन्दीपुर केवलकार, लगानीकर्ता अन्योलमा

beemaadmin
२०८३ बैशाख २५, शुक्रबार

काठमाडौं — बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड ले आईपीओ निष्कासनअघि प्रस्तुत गरेको वित्तीय प्रक्षेपण र हालको वास्तविक वित्तीय अवस्थाबीच ठूलो अन्तर देखिएको छ। कम्पनीले आकर्षक नाफा र आम्दानीको अनुमान सार्वजनिक गरेर सर्वसाधारणबाट आईपीओ बिक्री गरे पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनी घाटामा रहेको वित्तीय विवरणले देखाएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनी १ करोड ६२ लाख रुपैयाँ खुद घाटामा पुगेको छ। अघिल्लो त्रैमाससम्म यो घाटा २ करोड ५४ लाख रुपैयाँ थियो भने गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ करोड २४ लाख रुपैयाँ घाटामा रहेको थियो। यसले गत वर्षको तुलनामा घाटा अझै बढेको संकेत गर्छ, यद्यपि अघिल्लो त्रैमासको तुलनामा केही सुधार देखिएको छ।

कम्पनीले आईपीओ निष्कासनअघि प्रकाशित गरेको अफर लेटरमा आर्थिक वर्ष २०८२/८३ मा २० करोड रुपैयाँभन्दा बढी खुद नाफा हुने प्रक्षेपण गरेको थियो। त्यस्तै, ५५ करोड रुपैयाँभन्दा बढी कुल आम्दानी हुने दाबी गर्दै लगानीकर्तालाई आकर्षित गरिएको थियो। कम्पनीले सो अवधिमा कुल दायित्व करिब १ अर्ब ५ करोड रुपैयाँमा सीमित रहने अनुमान पनि प्रस्तुत गरेको थियो।

तर हालसम्मको वित्तीय प्रदर्शन हेर्दा कम्पनीले सार्वजनिक गरेको प्रक्षेपण यथार्थपरक देखिएको छैन। तेस्रो त्रैमाससम्म कम्पनीको कुल आम्दानी केवल १ करोड ६६ लाख रुपैयाँमा सीमित छ। अब बाँकी तीन महिनामै आम्दानी ५५ करोड रुपैयाँ पुग्ने सम्भावना अत्यन्त कमजोर देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको मुख्य सञ्चालन आम्दानीमा समेत उल्लेख्य गिरावट आएको छ। गत वर्षको तेस्रो त्रैमाससम्म सञ्चालन आम्दानी २ करोड २६ लाख रुपैयाँ रहेकोमा यस वर्ष घटेर १ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ। अर्थात्, सञ्चालन आम्दानीमा करिब ४८ प्रतिशतले कमी आएको देखिन्छ।

त्यसैगरी प्रशासनिक खर्च गत वर्षको तुलनामा झण्डै दोब्बर पुगेको छ भने बिक्री तथा प्रवर्द्धन खर्च केही घटेको छ। करिब २ अर्ब ८३ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ २२ करोड ९३ लाख रुपैयाँले ऋणात्मक बनेको छ। यस्तो अवस्था कम्पनीले विगतमा कमाएको नाफाभन्दा बढी घाटा व्यहोरेको संकेत मानिन्छ।

कम्पनीको कुल दायित्व १ अर्ब २८ करोड रुपैयाँभन्दा माथि पुगेको छ, जसमा विभिन्न संस्थाबाट लिएको ऋण मात्रै करिब १ अर्ब रुपैयाँ बराबर रहेको छ। कमजोर आम्दानी र बढ्दो घाटाका कारण कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (EPS) तेस्रो त्रैमाससम्म ५७ पैसाले ऋणात्मक रहेको छ।

वित्तीय अवस्था कमजोर देखिए पनि कम्पनीको दोस्रो बजार मूल्य भने प्रतिकित्ता ८०० रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ। जबकि प्रतिसेयर नेटवर्थ करिब १३७ रुपैयाँ मात्र रहेको छ र मूल्य–आम्दानी अनुपात (P/E Ratio) १५४७ गुणाले ऋणात्मक देखिएको छ।

सम्बन्धित समाचार