काठमाडौं । नेपाली कांग्रेसले पार्टीको चुनावी तयारीलाई व्यवस्थित, तथ्यपरक र दीर्घकालीन बनाउन स्थायी प्रकृतिको निर्वाचन ब्यूरो गठन गरेको छ। यसअघि निर्वाचनको समयमा मात्रै परिचालन समिति गठन गर्ने अभ्यास रहेको कांग्रेसले अब निरन्तर रूपमा चुनावी रणनीति, तथ्याङ्क व्यवस्थापन र उम्मेदवार तयारीका लागि स्थायी संरचना खडा गरेको हो।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै दक्ष राजनीतिक जनशक्ति निर्माण, निर्वाचनसम्बन्धी सूचना संकलन तथा वैज्ञानिक चुनावी योजना तयार गर्ने उद्देश्यले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा निर्वाचन ब्यूरो गठन गरिएको हो। सभापति गगनकुमार थापाले १७ सदस्यीय टोली मनोनयन गरी काम अघि बढाउन निर्देशन दिइसकेको उनले बताए।
ब्यूरोलाई स्पष्ट कार्यादेश (टिओआर) सहित जिम्मेवारी प्रदान गरिएको छ। सदस्यहरूमा निवर्तमान सहमहामन्त्री जीवन परियारसहित अब्दुल सत्तार, नानु बास्तोला, सन्दीप राना, वंशलाल तामाङ, प्रकाश तिवारी, महेश ढुङ्गेल, दीपक महतो, हरि पोखरेल, सुदर्शन आचार्य, रोहित पौडेल, भूमिराज चापागाईं, सिद्धार्थ थापा, नवराज त्रिपाठी, तेजविनोद पौडेल, जगन्नाथ लामिछाने र मिलनराज बर्तौला रहेका छन्।
कांग्रेसका अनुसार ब्यूरोले देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने, चुनावी तयारीलाई तथ्याङ्कमा आधारित बनाउने तथा ७५३ स्थानीय तह, ६ हजार ७४३ वडा र सातै प्रदेशका लागि विस्तृत निर्वाचन योजना तयार गर्नेछ। साथै मतदाता प्रवृत्ति, स्थानीय राजनीतिक अवस्था र जनभावनाको विश्लेषण गर्दै उम्मेदवार छनोट प्रक्रियालाई थप वैज्ञानिक र वस्तुगत बनाइनेछ।
ब्यूरोले परम्परागत चुनावी अभियानलाई आधुनिक राजनीतिक अभियानमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ। प्रभावकारी चुनावी रणनीति निर्माण, मतदाता मनोविज्ञान अध्ययन, मतदान सहभागिता विश्लेषण तथा अघिल्ला र पछिल्ला निर्वाचन परिणामको तुलनात्मक अध्ययन पनि यसको कार्यक्षेत्रमा समावेश गरिएको छ।
कांग्रेसले ब्यूरोअन्तर्गत सात सदस्यीय प्राविधिक समिति गठन गर्ने निर्णयसमेत गरेको छ। त्यसबाहेक विभिन्न कार्यसमूह र इकाइ गठन गरिनेछन् भने प्रदेशस्तरमा संयोजक खटाइनेछ। प्रदेश संयोजकको मातहत जिल्ला र स्थानीय तहमा सूचनादाताको सञ्जाल निर्माण गरिनेछ, जसले स्थानीय राजनीतिक गतिविधि, जनमत, प्राथमिकता र असन्तुष्टिबारे नियमित जानकारी उपलब्ध गराउनेछ।
ब्यूरोलाई देशव्यापी सर्वेक्षण सञ्चालन गरी मतदाताको भावना, विश्वासको स्तर र प्राथमिकता मापन गर्ने जिम्मेवारी पनि दिइएको छ। सोही आधारमा पार्टीका नीति, कार्यक्रम तथा घोषणापत्र सुधारका लागि सुझाव तयार गरिने जनाइएको छ।
यसका साथै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत जनमतको प्रवृत्ति अध्ययन, राजनीतिक असन्तुष्टि वा परिवर्तनका संकेतको प्रारम्भिक पहिचान तथा नियमित विश्लेषणात्मक प्रतिवेदन तयार गर्ने योजना पनि कांग्रेसले अघि सारेको छ।
पार्टी नेतृत्वले निर्वाचन ब्यूरोमार्फत देशव्यापी डाटाबेस निर्माण, वैज्ञानिक उम्मेदवार छनोट प्रणाली विकास, मतदाता केन्द्रित घोषणापत्र निर्माण र प्रभावकारी चुनावी रणनीति तय गर्न सहज हुने विश्वास व्यक्त गरेको छ। कांग्रेसका अनुसार यस कदमले आगामी निर्वाचनमा पार्टीको प्रतिस्पर्धात्मक क्षमता थप मजबुत बनाउने अपेक्षा गरिएको छ।