आर्थिक वर्षको पहिलो ३४ दिनमै सरकारको राजस्व संकलन १ खर्ब नाघ्यो
beemaadmin २०८३ भाद्र ७, आईतवार
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो ३४ दिनमै सरकारले १ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत बुधबारसम्म सरकारको ढुकुटीमा १ खर्ब रुपैयाँभन्दा बढी राजस्व जम्मा भएको हो।
कुल राजस्व संकलनमा भ्याटको हिस्सा सबैभन्दा धेरै ३४.०४ प्रतिशत रहेको छ। यस्तै, आयकरबाट २२.१७ प्रतिशत, अन्तःशुल्कबाट १५.४६ प्रतिशत, भन्सार महसुलबाट १४.५५ प्रतिशत र अन्य शीर्षकबाट १३.७८ प्रतिशत राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त लक्ष्यलाई ‘मिसन १६ खर्ब’ नाम दिएका छन्।
राजस्व चुहावट नियन्त्रण गर्दै लक्ष्यअनुसार राजस्व उठाउन अर्थ मन्त्रालय मातहतका निकायलाई ‘मिसन मोड’मा काम गर्न निर्देशन दिइएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा सरकारले १२ खर्ब ४९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यसको तुलनामा चालु आर्थिक वर्षको लक्ष्य ३ खर्ब ३१ अर्ब रुपैयाँ बढी हो।