free website hit counter

बेनी हाइड्रोपावरले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

beemaadmin
२०८३ भाद्र ९, मंगलवार

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरका २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १० लाख ४० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

त्यसैगरी, कम्पनीले २० हजार ८०० कित्ता शेयर कर्मचारी तथा ५२ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ।

अब कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन छिटोमा भदौ २५ गते बन्द हुनेछ। सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्काशन अवधि असोज ५ गतेसम्म लम्बिनेछ।

आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई [ICRA NP Issuer Rating] BB+ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

बेनी हाइड्रोपावरले १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २४ वर्ष बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष र डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

त्यसैगरी, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आईपीओमा आवेदन दिन सकिनेछ।

सम्बन्धित समाचार