free website hit counter

रसुवा बाढीले ३२ पुल बगायो, सडक सञ्जालमा ठूलो क्षति

beemaadmin
२०८३ भाद्र ११, बिहीबार

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण देशका प्रमुख राजमार्ग तथा सडक सञ्जालमा ठूलो क्षति पुगेको छ। सडक विभागका अनुसार बाढीका कारण विभिन्न जिल्लामा ३२ वटा साना–ठूला पुल पूर्ण रूपमा बगेका छन्।

विभागको पछिल्लो विवरणअनुसार थप तीनवटा पुलमा आंशिक क्षति पुगेको छ भने अन्य केही पुल उच्च जोखिमका बीच जोगिएका छन्। बाढीबाट रसुवा, नुवाकोट र धादिङ सबैभन्दा बढी प्रभावित भएका छन्।

रसुवामा १३ पुल ध्वस्त

बाढीको सबैभन्दा ठूलो क्षति रसुवामा भएको छ। यहाँ नेपाल–चीन सीमा जोड्ने रसुवागढीस्थित मितेरी पुल, टिमुरेका दुई पुल, चिलिमेस्थित भोटेकोशी तथा चिलिमे खोलाका पुल, स्याफ्रुबेँसी क्षेत्रका पुल तथा भोटेकोशी र बेलिब्रिजलगायत १३ वटा पुल पूर्ण रूपमा ध्वस्त भएका छन्।

त्यस्तै, त्रिशूली र मैलुङ क्षेत्रका पुलहरूमा समेत बाढीले ठूलो क्षति पुर्‍याएको छ।

नुवाकोटमा १४ पुल बगे

नुवाकोटमा बेत्रावतीदेखि देवीघाटसम्मका १४ वटा पुल बाढीले बगाएको छ। बेत्रावतीका पुराना तथा नयाँ पुल, त्रिशूली नदी पुल, त्रिशूली बजारका दुई पुल, सिमचौर पुल तथा मध्यपहाडी राजमार्गअन्तर्गत देवीघाटको पुललगायत संरचना क्षतिग्रस्त भएका छन्।

त्यसैगरी ताँदी खोलाका दुई पुल, श्रीकाली, बुढसिंहघाट, रातमाटे र फोस्रेटारका पुलसमेत बाढीमा बगेका छन्।

धादिङमा पाँच पुल ध्वस्त

धादिङमा पाँचवटा पुल पूर्ण रूपमा ध्वस्त भएका छन्। स्याल्टार सडक पुल, घाटबेँसी पुल, मलेखुस्थित फुर्के खोला पुल तथा कोल्पु खोलाका दुई पुल बाढीले बगाएको सडक विभागले जनाएको छ।

धादिङकै मास्तर पुल, जरेबगैँचा पुल र कोल्पु खोलाको नयाँ पुलमा भने आंशिक क्षति पुगेको छ।

यसैबीच गल्छीनजिकको भिमढुङ्गा–लामिडाँडा सडक पुल, बेनीघाट, फिस्लिङ, चुम्लिङटार तथा मुग्लिन क्षेत्रका केही पुल भने बाढीको उच्च जोखिमबाट जोगिएका छन्।

पुलहरू बगेपछि प्रभावित क्षेत्रको सडक यातायातमा गम्भीर असर परेको छ। सडक विभागले क्षतिग्रस्त संरचनाको विवरण संकलन तथा अवरुद्ध सडक खुलाउने कामलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार