काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा स्थगित गरिएको १५ मिनेटे ‘क्लोजिङ’ प्रणाली पुनः लागू गर्ने तयारी थालेको छ। कारोबारको अन्तिम समयमा हुने अस्वाभाविक मूल्य उतारचढाव तथा चलखेल नियन्त्रण गर्दै कम्पनीको अन्तिम सेयर मूल्य निर्धारणलाई थप पारदर्शी बनाउने उद्देश्यले सेबोनले उक्त व्यवस्था पुनः कार्यान्वयनका लागि प्रक्रिया अघि बढाएको हो।
यसैक्रममा सेबोनले कारोबारको अन्तिम १५ मिनेटमा भएको कारोबारको भारित औसत मूल्यका आधारमा क्लोजिङ मूल्य निर्धारण गर्ने व्यवस्था पुनः लागू गर्न सकिने वा नसकिने विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग औपचारिक सुझाव मागेको छ।
सेबोनका अधिकारीहरूका अनुसार आन्तरिक छलफलका क्रममा कारोबारको अन्तिम मूल्य निर्धारण गर्दा अन्तिम १५ मिनेटको कारोबारको भारित औसत मूल्यलाई आधार बनाउनु तुलनात्मक रूपमा पारदर्शी हुने निष्कर्ष निकालिएको छ। त्यसै आधारमा प्रणाली पुनः लागू गर्न सकिने वा नसकिने विषयमा नेप्सेसँग प्राविधिक तथा व्यावहारिक सुझाव मागिएको हो।
स्रोतका अनुसार सेबोनका अध्यक्ष डा. गोपाल भट्टको निर्देशनपछि नेप्सेलाई यससम्बन्धी पत्र पठाइएको हो। अध्यक्ष भट्ट कम्पनीको अन्तिम सेयर मूल्य निर्धारण अन्तिम १५ मिनेटमा भएको कारोबारको भारित औसत मूल्यका आधारमा हुनुपर्ने पक्षमा रहेको स्रोतको भनाइ छ।
यसअघि २०८१ चैतको पहिलो साता धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा चौथो संशोधन गर्दै नेप्सेले क्लोजिङ प्राइस निर्धारणमा अन्तिम १५ मिनेटको कारोबारलाई आधार बनाउने व्यवस्था लागू गरेको थियो। उक्त व्यवस्थाअनुसार कारोबार सत्रको अन्तिम १५ मिनेटमा भएको कारोबारको भारित औसत मूल्यका आधारमा कम्पनीको अन्तिम मूल्य कायम हुने गरेको थियो।
तर, कार्यान्वयनमा आएको करिब ६ महिनापछि सेबोनले २०८२ असोज ७ गते उक्त व्यवस्था स्थगित गरेको थियो। त्यसपछि पुरानै प्रणालीअनुसार दिनको अन्तिम कारोबारबाट कम्पनीको क्लोजिङ मूल्य निर्धारण हुँदै आएको छ।
अब भने सेबोनले स्थगित गरिएको १५ मिनेटे क्लोजिङ प्रणालीलाई पुनः कार्यान्वयनमा ल्याउने सम्भावना बढेको छ। त्यसका लागि नेप्सेबाट आवश्यक प्राविधिक तथा व्यावहारिक पक्षबारे सुझाव मागिएको हो।
सेबोनले नेप्सेलाई पठाएको पत्रमा स्थगित गरिएको कारोबार सत्रको अन्तिम १५ मिनेटको कारोबारलाई आधार लिएर नेप्से सूचकांक गणना गर्ने विधि पुनः कार्यान्वयन गर्न सकिने वा नसकिने विषयमा सुझाव पेस गर्न भनिएको छ।