free website hit counter

विपदमा २१ जनाको मृत्यु, ५ बेपत्ता : प्रधानमन्त्री शाहद्वारा उच्च सतर्कता अपनाउन आग्रह

beemaadmin
२०८३ आश्विन १२, सोमबार

काठमाडौँ  । प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा, बाढी, पहिरो र हावाहुरीका कारण विपद्को जोखिम अझै कायमै रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन्।

आइतबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले असोज ८ गतेदेखि हालसम्म विभिन्न जिल्लामा मनसुनजन्य विपद्का घटनामा २१ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको जानकारी दिए।

चट्याङ, बाढी, पहिरो तथा वर्षाजन्य घटनाबाट म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा मानवीय क्षति भएको उनले बताए। विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री शाहले घाइते पाँच जनाको उपचार खर्च सरकारले निःशुल्क बेहोर्ने घोषणा गरे।

प्रधानमन्त्रीका अनुसार हालसम्म देशभर ४३९ वटा मनसुनजन्य विपद्का घटना दर्ता भएका छन्। मनाङमा हिमपहिरोमा परेकासहित पाँच जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी तथा विभिन्न स्थानमा बाढीमा फसेका नागरिकको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।

विद्युत् आपूर्तिमा पनि गम्भीर असर

लगातारको वर्षा र बाढीले ऊर्जा पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको प्रधानमन्त्री शाहले बताएका छन्। उनका अनुसार कालीगण्डकी, मर्स्याङ्दी र सेती–मादी करिडोरबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको १ हजार १३ दशमलव २ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ।

प्रसारण टावर ढलेका कारण ३१८ मेगावाट क्षमताका आयोजना पूर्ण रूपमा बन्द भएका छन्। त्यस्तै, थप जोखिम हुन नदिन सुरक्षात्मक उपायस्वरूप ६९५ दशमलव २ मेगावाट विद्युत् उत्पादन रोकिएको प्रधानमन्त्रीले बताए। विद्युत् आपूर्ति पुनःस्थापना गर्न प्राविधिक टोली परिचालन गरिएको उनको भनाइ छ।

राजमार्गदेखि स्थानीय सडकसम्म अवरुद्ध

नारायणी नदीमा आएको बाढीले क्रुजसिप बगाएर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्गको केही खण्डमा यातायात रोकिएको छ। काठमाडौं उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथसहित विभिन्न जिल्लाका दर्जनौँ सडक बाढी, पहिरो तथा सडक भासिने समस्याका कारण प्रभावित भएका छन्।

कालीगण्डकीमाथिको पक्की पुल बगेको तथा भोटेकोशी–त्रिशूली नदी तटीय सडकमा पुनः क्षति पुगेको प्रधानमन्त्रीले बताएका छन्। क्षतिग्रस्त सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइएको उनले जानकारी दिए।

महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको गड्डाचौकी नाकाबाट हुने नेपाल–भारत आवागमनसमेत प्रभावित भएको छ। बनवासा पुलमा दुवैतर्फ सवारीसाधन रोकिएको उनले बताए।

त्यसैगरी सेती, नारायणी र कमला नदी तथा कुलेखानी क्षेत्रमा पानीको बहाव उच्च रहेकाले जोखिम क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

कृषि क्षेत्रमा पनि क्षति

वर्षासँगै आएको हावाहुरी र बाढीका कारण किसानको धान तथा तरकारी बालीमा समेत ठूलो क्षति पुगेको प्रधानमन्त्री शाहले बताए। खेतबारीमा पानी जम्नु, बाढी पस्नु र हावाहुरीले बाली ढलाउनुका कारण कृषि क्षेत्रमा थप क्षति भएको सरकारको प्रारम्भिक आकलन छ।

विपद्बाट प्रभावित परिवारलाई स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको व्यवस्था मिलाइएको प्रधानमन्त्रीले बताए।

उनका अनुसार मौसम पूर्वानुमानका आधारमा सरकारले रात्रीकालीन यातायात तथा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। त्यस्तै, ७७ वटै जिल्लामा कमान्ड पोस्ट सक्रिय बनाइएकाले हिमाली क्षेत्रका पदयात्री तथा विद्यार्थीलाई सम्भावित जोखिमबाट जोगाउन सहयोग पुगेको उनले बताए।

भ्रामक सूचना र कालोबजारीमाथि निगरानी

प्रधानमन्त्री शाहले विपद्को संवेदनशील अवस्थामा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारीमा संलग्न हुने गतिविधिमाथि सरकारले निगरानी गरिरहेको बताएका छन्।

विपद्को समयमा सामाजिक सञ्जालमार्फत अपुष्ट सूचना फैलाउँदा उद्धार तथा राहत व्यवस्थापनमा समेत समस्या उत्पन्न हुन सक्ने भन्दै उनले नागरिकलाई जिम्मेवार सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन्। पीडितको व्यक्तिगत विवरण तथा संवेदनशील सामग्री सार्वजनिक गर्दा उनीहरूको गोपनीयता र मर्यादा प्रभावित हुन सक्ने भएकाले त्यसतर्फ समेत सावधानी अपनाउन उनले आग्रह गरे।

जोखिम अझै कायमै

प्रधानमन्त्री शाहले मौसमजन्य जोखिम पूर्ण रूपमा नटरेको भन्दै नागरिकलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेका छन्। नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र तथा कमजोर सडक र पुलबाट आवतजावत गर्दा विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।

संकटमा परेका नागरिकले तत्काल उद्धार तथा सहयोगका लागि निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न सक्ने प्रधानमन्त्रीले बताएका छन्।

सरकारले सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरेको जनाउँदै प्रधानमन्त्री शाहले विपद्को समयमा नागरिकको जीवन रक्षा र अत्यावश्यक सेवा सञ्चालनलाई प्राथमिकतामा राखिएको बताएका छन्।

सम्बन्धित समाचार