free website hit counter

बीमा कम्पनीमा दाबीको चाप बढ्दो, साउनमै ६ अर्ब ७८ करोड भुक्तानी

beemaadmin
२०८३ आश्विन १३, मंगलवार

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै बीमा कम्पनीहरूले दाबी भुक्तानीमा ठूलो रकम खर्च गरेका छन्। जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले साउन महिनामा मात्रै ६ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ दाबीबापत भुक्तानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार उक्त रकम ३९ हजार ९० वटा दाबी फर्छ्योटमा भुक्तानी गरिएको हो। अघिल्लो आर्थिक वर्षको साउनमा ३८ हजार ५२९ वटा दाबीबापत ६ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ भुक्तानी भएको थियो। यस वर्ष दाबीको संख्या र भुक्तानी रकम दुवैमा वृद्धि भएको देखिन्छ।

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले मात्रै २८ हजार १२१ वटा दाबी फर्छ्योट गर्दै ५ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेका छन्। गत वर्षको साउनमा जीवन बीमकहरूले २८ हजार ५९ वटा दाबीमा ५ अर्ब ९ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेका थिए।

यसपटक जीवन बीमातर्फ दाबी फर्छ्योटको संख्या ०.२२ प्रतिशतले मात्र बढेको छ। तर, भुक्तानी रकम भने ७.३६ प्रतिशतले बढेको छ। दाबीको संख्यामा सामान्य वृद्धि भए पनि भुक्तानी भएको रकम उल्लेख्य बढ्नुले फर्छ्योट भएका दाबीको औसत रकम बढेको देखाउँछ।

यता, निर्जीवन बीमा कम्पनीहरूले साउनमा १० हजार ९६९ वटा दाबी फर्छ्योट गरेका छन्। ती दाबीबापत कम्पनीहरूले १ अर्ब ३१ करोड ३ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्षको साउनमा १० हजार ४७० वटा दाबीमा १ अर्ब ६५ करोड १५ लाख रुपैयाँ भुक्तानी भएको थियो।

निर्जीवन बीमातर्फ दाबी फर्छ्योटको संख्या भने ४.७७ प्रतिशतले बढेको छ। तर, भुक्तानी रकम २०.६६ प्रतिशतले घटेको छ। अर्थात् अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै दाबी फर्छ्योट भए पनि ती दाबीमा भुक्तानी भएको कुल रकम भने कम छ।

भुक्तानी हुन बाँकी दाबी पनि बढ्दै

बीमा कम्पनीहरूले दाबी फर्छ्योट गरिरहेका भए पनि भुक्तानी हुन बाँकी दाबीको संख्या र रकम भने उल्लेख्य रूपमा बढेको देखिन्छ। साउन मसान्तसम्म जीवन बीमा कम्पनीमा १ लाख २५ हजार ६३० वटा दाबी फर्छ्योट हुन बाँकी छन्। ती दाबीमा १० अर्ब १४ करोड ७३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणको तथ्यांक छ।

गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीमा ५७ हजार ६०३ वटा दाबी फर्छ्योट हुन बाँकी थिए। ती दाबीको कुल रकम ४ अर्ब ६० करोड ६ लाख रुपैयाँ थियो।

एक वर्षको अवधिमा जीवन बीमातर्फ फर्छ्योट हुन बाँकी दाबीको संख्या ११८.१० प्रतिशतले बढेको छ भने दाबी रकम १२०.५६ प्रतिशतले वृद्धि भएको छ। यसले जीवन बीमा कम्पनीहरूमा दाबी व्यवस्थापनको चाप उल्लेख्य रूपमा बढेको संकेत गर्छ।

निर्जीवन बीमा कम्पनीहरूमा पनि भुक्तानी हुन बाँकी दाबीको अवस्था ठूलो छ। साउन मसान्तसम्म निर्जीवन बीमातर्फ १ लाख १० हजार ६५० वटा दाबी फर्छ्योट हुन बाँकी छन्। ती दाबीमा कम्पनीहरूले ४१ अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको दायित्व भुक्तानी गर्न बाँकी रहेको तथ्यांकले देखाउँछ।

गत वर्षको साउन मसान्तमा निर्जीवन बीमा कम्पनीमा १ लाख ९०८ वटा दाबी फर्छ्योट हुन बाँकी थिए। यस वर्ष बाँकी दाबीको संख्या गत वर्षको तुलनामा उल्लेख्य बढेको छ।

यसरी बीमा कम्पनीहरूले नयाँ दाबी फर्छ्योट गर्दै गए पनि पुराना तथा भुक्तानी हुन बाँकी दाबीको संख्या र रकम बढ्दै जानुले दाबी व्यवस्थापन बीमा क्षेत्रका लागि महत्वपूर्ण चुनौती बन्दै गएको देखिन्छ। विशेषगरी निर्जीवन बीमातर्फ ठूलो रकमका दाबी बाँकी रहेकाले कम्पनीहरूको दाबी फर्छ्योट क्षमता, दायित्व व्यवस्थापन र भुक्तानी प्रक्रियामाथि थप दबाब पर्ने देखिएको छ।

सम्बन्धित समाचार