काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको समग्र विकासका लागि प्राथमिक र दोस्रो बजारलाई समेटेर तीन चरणमा सुधार प्रक्रिया अघि बढाउने रणनीति सार्वजनिक गरेको छ।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले संसदीय समितिको बैठकमा बजारका सहभागी तथा सरोकारवालाको सहभागितामा नीतिगत सुधार, पूर्वाधार विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए।
बोर्डले प्राथमिक र दोस्रो बजार सुधारका लागि छुट्टाछुट्टै सुधार समिति गठन गरेको छ। समितिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ, नेपाल उद्योग वाणिज्य महासंघ तथा मर्चेन्ट बैंकर्स एसोसिएसनका प्रतिनिधि सहभागी छन्।
सुधार प्रक्रियालाई पारदर्शी र सहभागितामूलक बनाउन बोर्डले सुरुमा कन्सेप्ट पेपर तयार गर्ने, त्यसलाई सम्बन्धित समितिमा छलफल गर्ने, सार्वजनिक परामर्शमार्फत सुझाव संकलन गर्ने र त्यसपछि नीतिगत व्यवस्था कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाएको छ।
प्राथमिक बजार सुधारअन्तर्गत आईपीओ निष्कासन, मूल्य निर्धारण तथा प्राइस डिस्कभरी, योग्य संस्थागत लगानीकर्ता र सेयर बाँडफाँट प्रणालीसँग सम्बन्धित नीतिहरू तयार भइसकेका छन्। यी व्यवस्था बजारको तयारी र सहभागीहरूको सुझावका आधारमा क्रमशः कार्यान्वयनमा लैजाने बोर्डको योजना छ।
त्यसैगरी, म्युचुअल फन्डलगायत प्राथमिक बजारसँग सम्बन्धित अन्य विषयमा समेत नीतिगत सुधार अघि बढाइएको अध्यक्ष भट्टले बताए।
उनका अनुसार सुधार प्रक्रियामा सम्बन्धित बजार सहभागीलाई प्रत्यक्ष रूपमा सहभागी गराएर बजारको आवश्यकता र क्षमतालाई ध्यानमा राखी नीतिगत व्यवस्था कार्यान्वयन गरिनेछ।
दोस्रो बजार सुधारअन्तर्गत बोर्डले ब्रोकर व्यवसायको पुनर्संरचनालाई प्राथमिकतामा राखेको छ। ब्रोकर कम्पनीलाई पारिवारिक व्यवसायको सीमित संरचनाबाट माथि उठाउँदै व्यवस्थित तथा औद्योगिक मोडलमा विकास गर्ने नीति बोर्डले अघि सारेको छ।
अब ब्रोकर कम्पनीलाई क्षमता र सेवाका आधारमा चार श्रेणीमा वर्गीकरण गर्ने तथा स्टक डिलरसिपसहितको विस्तारित संरचनामा लैजाने योजना रहेको अध्यक्ष भट्टले जानकारी दिए।
उनले प्राथमिक र दोस्रो बजार सुधारका लागि गठन गरिएका समितिमार्फत सरोकारवालाको सुझाव लिएर नीतिहरू अघि बढाइएको बताए।
बोर्डले दोस्रो बजारको प्रमुख पूर्वाधार नेप्सेको सुधारलाई समेत प्राथमिकतामा राखेको छ। ट्रेडिङ प्रणाली, अर्डर व्यवस्थापन, साइबर सुरक्षा तथा सूचना प्रविधिसँग सम्बन्धित संरचनामा सुधार गर्न नियामकीय व्यवस्था थप कडाइका साथ कार्यान्वयन गर्ने तयारी गरिएको छ।
अध्यक्ष भट्टका अनुसार नेप्सेसँग सम्बन्धित करिब ३१ देखि ३२ वटा नयाँ नियामकीय व्यवस्था तयार पारिएको छ। ती व्यवस्था क्रमशः कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाइएको उनले बताए।
सरकारी स्वामित्वका सम्बन्धित संस्थाबीचको समन्वय अभाव तथा क्षेत्राधिकारसँग जोडिएका समस्यालाई सम्बोधन गर्दै नेप्सेको प्राविधिक क्षमता, अर्डर म्यानेजमेन्ट र साइबर सुरक्षालाई थप सुदृढ बनाउने बोर्डको योजना छ।
बोर्डले पुँजी बजार सुधारलाई नीतिगत परिवर्तनमा मात्र सीमित नराखी बजारको पूर्वाधार, संस्थागत क्षमता र नियामकीय संरचनालाई समेत सुदृढ बनाउने गरी तीन चरणमा अघि बढाउने जनाएको छ।