free website hit counter

दसैंमा राष्ट्र बैंकले छुट्टै मिति तोकेर नयाँ नोट नबाँड्ने

beemaadmin
२०८३ आश्विन १५, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दसैंलाई लक्षित गरेर छुट्टै मिति तोकी नयाँ तथा खुद्रा नोट वितरण नगर्ने भएको छ । अब केन्द्रीय बैंकले नियमित कार्यालय समयमै बजारको माग र आवश्यकताअनुसार नयाँ तथा खुद्रा नोट सटही सुविधा उपलब्ध गराउने भएको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार विगतमा दसैंअघि निश्चित मिति तोकेर नयाँ तथा खुद्रा नोट सटही गर्ने अभ्यास यस वर्षदेखि परिवर्तन गरिएको हो ।

‘दसैंका बेला नयाँ तथा खुद्रा नोट सटही सुविधा उपलब्ध हुने मिति तोक्ने अभ्यास हटाएका छौं,’ दाहालले भने, ‘यसपालिदेखि केन्द्रीय बैंकको नियमित कामअन्तर्गत नै नयाँ तथा खुद्रा नोट सटही सेवा उपलब्ध हुन्छ ।’

दसैंका बेला नयाँ नोटको माग उच्च हुने भएकाले विगतमा राष्ट्र बैंकले पर्वलाई लक्षित गरी विशेष रूपमा नयाँ नोट बजारमा पठाउँदै आएको थियो । तर, अब कुनै निश्चित पर्वलाई लक्षित गर्नुभन्दा बजारको माग र आवश्यकताका आधारमा नोट सटही सेवा उपलब्ध गराउने नीति लिइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकसँग पर्याप्त नोट मौज्दात रहेकाले मागअनुसार सटही सुविधा उपलब्ध गराउन समस्या नहुने दाहालले बताए । नयाँ नोटले माग धान्न नसकेको अवस्थामा सुकिला तथा चलनचल्तीमा रहेका नोटसमेत वितरण गरिने उनले जानकारी दिए ।

‘केन्द्रीय बैंकसँग पर्याप्त नोट छ, मागअनुसार सटही सुविधा हामी दिन्छौं,’ दाहालले भने, ‘नयाँले पुग्दासम्म नयाँ वितरण गर्छौं, त्यसले पनि पुगेन भने सुकिला नोट वितरण गर्ने योजनामा छौं ।’

राष्ट्र बैंकको बैंकिङ काउन्टरबाट नियमित कार्यालय समयमा नै नोट सटही सेवा उपलब्ध हुँदै आएको छ । बैंक तथा वित्तीय संस्थाले समेत पर्याप्त नयाँ तथा खुद्रा नोट लगिसकेको र आफ्ना ग्राहकलाई वितरण गरिरहेको राष्ट्र बैंकले जनाएको छ ।

यस वर्ष प्राकृतिक विपत्तिका कारण विगतको जस्तो दसैं उत्सवमय रूपमा मनाउने अवस्था नरहेको भन्दै राष्ट्र बैंकले छुट्टै सूचना जारी गरेर नयाँ नोट वितरण गर्ने अभ्यास नगरेको जनाएको छ ।

हाल राष्ट्र बैंकमा नोट सटही गर्न जाने व्यक्तिले अधिकतम दुई बन्डलसम्म नोट साट्न पाउने व्यवस्था छ । एउटा बन्डलमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटमध्ये प्रत्येक दरका १०० थान नोट रहनेछन् ।

राष्ट्र बैंकका अनुसार व्यक्तिगत प्रयोजनका लागि नोट सटही गर्दा उपलब्धताका आधारमा नोट दिइनेछ । व्यापारिक प्रयोजनका लागि भने नयाँ तथा सुकिला नोटसमेत सटही गर्न सकिने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार