काठमाडौं । हिमालयन बुलियन कम्पनी लिमिटेड र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ग्राहकलाई दुर्घटना बीमा सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
गरगहना व्यवसायमा विगत २५ वर्षदेखि सक्रिय हिमालयन बुलियनले ग्राहकको सुरक्षा तथा लगानीलाई ध्यानमा राख्दै ग्राहकलाई तीन तहमा वर्गीकरण गरी बीमा सुविधा उपलब्ध गराउने भएको हो ।
सम्झौताअनुसार आगामी बडादशैंको घटस्थापनादेखि हिमालयन बुलियनका ग्राहकले १ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन् ।
कम्पनीका अनुसार सिल्भर सदस्यता भएका ग्राहकले अधिकतम १ लाख रुपैयाँ, गोल्ड सदस्यता भएका ग्राहकले ५ लाख रुपैयाँ र डाइमन्ड सदस्यता भएका ग्राहकले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन् ।
हिमालयन बुलियनले ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग सम्झौता गरिएको जनाएको छ । कम्पनीका अनुसार बीमा सुविधाले ग्राहकलाई गरगहनामा गरिएको लगानीसँगै व्यक्तिगत सुरक्षाको थप प्रत्याभूति प्रदान गर्नेछ ।
कम्पनीले ग्राहकको आवश्यकता र सुरक्षालाई ध्यानमा राखेर आगामी दिनमा समेत सेवा तथा सुविधालाई थप विस्तार गर्दै लैजाने जनाएको छ ।