काठमाडौं । दसैँका बेला उपभोक्तालाई खाना पकाउने ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकामा ग्यास साटफेर गर्ने वितरण केन्द्रको सङ्ख्या ६ बाट बढाएर ११ पुर्याइएको छ।
नेपाल आयल निगमको समन्वयमा ग्यास बिक्रेता महासंघले आइतबारदेखि सुरु गरेको ग्यास बिक्री तथा साटफेर व्यवस्थालाई विस्तार गर्दै सोमबारदेखि थप पाँच स्थानमा सेवा सञ्चालन गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।
आइतबार उपत्यकाका छ स्थानमा मात्रै ग्यास साट्ने व्यवस्था गरिएको थियो। ती केन्द्रमा पर्याप्त ग्यास नहुँदा कतिपय उपभोक्ता खाली सिलिन्डर लिएर फर्किनुपरेको थियो। उपभोक्ताको सहजताका लागि थप केन्द्र सञ्चालन गरिएको संघले जनाएको छ।
संघका अनुसार सोमबारदेखि काठमाडौंको चपली बुढानीलकण्ठमा भानु ग्यास, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी ग्यास, कलंकीमा गीता ग्यास, खसीबजारस्थित आरके ट्रेडर्समा सीताश्री ग्यास तथा सन्तुङ्गलमा श्रीमाया ग्यास साट्ने व्यवस्था थप गरिएको छ।
यसअघि आइतबारदेखि ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास, काठमाडौंको कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा सुकेधारामा बाबा र श्री ग्यास साट्ने व्यवस्था गरिएको थियो। त्यस्तै, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास, पेप्सीकोलामा सगर ग्यास तथा सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास साट्न सकिने व्यवस्था मिलाइएको थियो।
तोकिएका ११ वितरण केन्द्रमा उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर उपलब्ध अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन्। यसरी फरक कम्पनीको सिलिन्डर साट्दा अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। तर, तोकिएका केन्द्रबाहेक अन्य स्थानबाट ग्यास साटफेर गर्न नपाइने संघले स्पष्ट पारेको छ।
यो व्यवस्था असोज ३० गतेसम्म बिहान ११ बजेदेखि अपराह्न ४ः३० बजेसम्म सञ्चालन हुने जनाइएको छ। यसअघि संघले असोज ३१ गतेसम्म बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म ग्यास साटफेर गर्न सकिने जनाएको थियो।
संघका अनुसार आइतबार पहिलो दिन विभिन्न कम्पनीका ३ हजार ७५ वटा ग्यास सिलिन्डर बिक्री तथा वितरण भएका थिए।