free website hit counter

दुई महिनामा निजी क्षेत्रमा ९३ अर्ब ५२ करोड कर्जा प्रवाह

beemaadmin
२०८३ कार्तिक ११, मंगलवार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा निजी क्षेत्रमा ९३ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा निजी क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले बढेर ५९ खर्ब ५० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।

कर्जा प्रवाहमा वाणिज्य बैंकहरूको हिस्सा सबैभन्दा बढी देखिएको छ। समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा १.७ प्रतिशत, विकास बैंकहरूको ०.६ प्रतिशत र वित्त कम्पनीहरूको १.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

Advertisement
Advertisement

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा ४९ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। यस्तै, वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ।

Advertisement
Advertisement

घरजग्गा धितोमा सबैभन्दा बढी कर्जा

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १५.६ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६२.८ प्रतिशत कर्जा प्रवाह गरेका छन्।

क्षेत्रगत रूपमा हेर्दा खनिज क्षेत्रतर्फको कर्जा १०.४ प्रतिशतले बढेको छ। यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रमा ७.६ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन र मर्मत क्षेत्रमा ७.३ प्रतिशत तथा निर्माण क्षेत्रमा ३.७ प्रतिशतले कर्जा बढेको छ।

त्यस्तै, सेवा उद्योग क्षेत्रमा २.७ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा २.५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा २.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा १.९ प्रतिशत र उपभोग्य क्षेत्रमा ०.२ प्रतिशतले कर्जा प्रवाह वृद्धि भएको छ।

कृषि र वित्तीय क्षेत्रमा कर्जा घट्यो

समीक्षा अवधिमा सबै क्षेत्रमा कर्जा प्रवाह बढेको भने छैन। राष्ट्र बैंकका अनुसार वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले घटेको छ। कृषि क्षेत्रतर्फको कर्जा पनि २.२ प्रतिशतले घटेको छ।

समग्रमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह बढे पनि विभिन्न आर्थिक क्षेत्रमा कर्जाको विस्तार असमान देखिएको छ।

सम्बन्धित समाचार