free website hit counter

सिटिजन लाइफको खुद बीमाशुल्क आर्जन २ अर्ब ४८ करोड 

beemaadmin
२०८३ कार्तिक २१, शुक्रबार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद बीमाशुल्क आर्जन १६.८२ प्रतिशतले बढाएको छ । कम्पनीले असोज मसान्तसम्म २ अर्ब ४८ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो आर्जन २ अर्ब १२ करोड ६३ लाख रुपैयाँ थियो ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बीमाशुल्क आर्जनमा वृद्धि भए पनि खुद नाफामा भने गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीले १० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा आर्जित १३ करोड १४ लाख रुपैयाँको तुलनामा २३.९० प्रतिशत कम हो ।

Advertisement
Advertisement

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १३.०८ प्रतिशतले बढेर ३ अर्ब ७ करोड २ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी २ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।

Advertisement
Advertisement

यता, कम्पनीको कुल खर्च आम्दानीभन्दा बढी दरमा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ५८ करोड ३६ लाख रुपैयाँ रहेको कुल खर्च १४.९६ प्रतिशतले वृद्धि भएर चालु आर्थिक वर्षको असोज मसान्तसम्म २ अर्ब ९७ करोड २ लाख रुपैयाँ पुगेको छ । आम्दानीको तुलनामा खर्चको वृद्धिदर बढी हुँदा कम्पनीको नाफामा दबाब परेको देखिन्छ ।

कर्जा तथा लगानीबाट प्राप्त आम्दानी भने सामान्य घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ करोड ८९ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा ०.७३ प्रतिशतले घटेर ५४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको जीवन बीमा कोषमा भने उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म २१ अर्ब ५९ करोड १० लाख रुपैयाँ रहेको जीवन बीमा कोष ३५.०७ प्रतिशतले बढेर चालु आर्थिक वर्षको सोही अवधिमा २९ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको महाविपत्ति कोष ३.७१ प्रतिशतले बढेर २७ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चित मुनाफा १७.८१ प्रतिशतले वृद्धि भएर ५८ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको अभिकर्ता कमिसन खर्च १४.९४ प्रतिशतले बढेर २३ करोड २७ लाख रुपैयाँ पुगेको छ । नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० रुपैयाँ ५२ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ८ रुपैयाँ १ पैसामा झरेको छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५० पैसा रहेको छ भने चुक्ता पुँजी ५ अर्ब रुपैयाँमा स्थिर रहेको छ ।

सम्बन्धित समाचार