काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लोयल्टी बोनससहितको नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले लक्ष्मीपूजाको अवसर पारेर २०८३ कात्तिक २२ गते ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ बजारमा ल्याएको हो।
बचत र जीवन सुरक्षालाई एकैसाथ समेट्ने उद्देश्यले ल्याइएको यस योजनामा बीमालेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितले लोयल्टी बोनससमेत प्राप्त गर्नेछन्। यसले दीर्घकालीन बचतलाई प्रोत्साहन गर्नुका साथै बीमितलाई थप आर्थिक लाभ प्रदान गर्ने कम्पनीको विश्वास छ।
यस योजनाअन्तर्गत बीमा अवधि समाप्त हुँदा बीमित जीवित रहेमा बीमाङ्क रकम, बोनस र लोयल्टी बोनस एकमुष्ट भुक्तानी गरिनेछ। त्यस्तै, बीमा अवधिभित्र बीमितको मृत्यु भएमा प्रचलित नियमअनुसार बीमाङ्क रकम, बोनस तथा लोयल्टी बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ।
१० देखि २५ वर्षसम्मको बीमा अवधि
आइएमई बिग सावधिक जीवन बीमा योजना १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले खरिद गर्न सक्नेछन्। यस योजनाको बीमा अवधि न्यूनतम १० वर्षदेखि अधिकतम २५ वर्षसम्म रहनेछ। न्यूनतम बीमाङ्क रकम २५ हजार रुपैयाँ निर्धारण गरिएको छ।
योजनाका प्रमुख आकर्षणमा सहज बीमाशुल्क भुक्तानी, बोनस तथा लोयल्टी बोनसको सुविधा, बीमालेख धितो राखी कर्जा लिन सकिने व्यवस्था, प्रचलित कानुनअनुसार कर छुट तथा आकर्षक परिपक्वता लाभ रहेका छन्।
त्यसैगरी, पूरक करार सुविधाअन्तर्गत दुर्घटना मृत्यु लाभ, बीमाशुल्क मिनाहा, आम्दानी सुविधा, एकमुष्ट भुक्तानी तथा काजक्रिया खर्चजस्ता अतिरिक्त सुविधा पनि लिन सकिनेछ।

दीर्घकालीन बचत र सुरक्षालाई प्राथमिकता
नयाँ बीमा योजना सार्वजनिक गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले बीमितलाई दीर्घकालीन बचत र जीवन सुरक्षा सँगसँगै अतिरिक्त लाभ प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको बताए।
उनका अनुसार बीमालेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनसमार्फत प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ। यसले जीवन बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्नुका साथै दीर्घकालीन बीमा संस्कृतिको विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कम्पनीले नयाँ योजनामार्फत ग्राहकको दीर्घकालीन आर्थिक सुरक्षा सुनिश्चित गर्दै जीवन बीमाको पहुँच विस्तार र समग्र बीमा क्षेत्रको दिगो विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
यस योजनासम्बन्धी थप जानकारीका लागि नजिकैको आइएमई लाइफको शाखा कार्यालय, बीमा अभिकर्ता वा कम्पनीको आधिकारिक वेबसाइटमार्फत सम्पर्क गर्न सकिनेछ।