काठमाडौं । काठमाडौंको कुलेखानी हुँदै सर्लाही जाँदै गरेको यात्रुवाहक माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको छ। बिहीबार बिहान भएको दुर्घटनामा माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
मकवानपुर प्रहरीका अनुसार बिहान करिब पौने ६ बजे काठमाडौं–कुलेखानी–भीमफेदी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढी नजिकै माइक्रोबस दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरिरहेको छ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त माइक्रोबसको नम्बर खुल्न सकेको छैन। उक्त माइक्रोबसमा करिब १३ देखि १४ जना यात्रु सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनाको कारण, घाइतेको अवस्था तथा अन्य क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।