free website hit counter

बीमा कम्पनीको नेतृत्वमा महिलाको उपस्थिति कमजोर

beemaadmin
२०८३ कार्तिक ३०, आईतवार

काठमाडौं । बीमा क्षेत्रमा महिलाको सहभागिता प्रारम्भिक तहमा उल्लेख्य भए पनि उच्च नेतृत्वमा उनीहरूको प्रतिनिधित्व निकै कमजोर रहेको पाइएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले बीमा कम्पनीका सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा उच्च व्यवस्थापन तहमा पुरुषको वर्चस्व रहेको देखाएको हो।

प्राधिकरणले सार्वजनिक गरेको ‘इन्स्योरेन्स थ्रु अ जेन्डर लेन्सः अ फेमिनिस्ट एसेसमेन्ट इन नेपाल’ नामक अध्ययन प्रतिवेदनअनुसार जीवन बीमा कम्पनीको सञ्चालक समितिमा महिलाको प्रतिनिधित्व २२ प्रतिशत मात्रै छ। बाँकी ७८ प्रतिशत स्थानमा पुरुषको सहभागिता रहेको छ।

Advertisement
Advertisement

त्यस्तै, जीवन बीमा कम्पनीको कार्यकारी व्यवस्थापन अर्थात् सीईओ तथा उच्च अधिकारी तहमा महिलाको उपस्थिति १३ प्रतिशत मात्रै छ। यस तहमा पुरुषको प्रतिनिधित्व ८७ प्रतिशत रहेको छ। व्यवस्थापक तहमा भने महिलाको सहभागिता २६ प्रतिशत र पुरुषको ७४ प्रतिशत रहेको अध्ययनले देखाएको छ।

Advertisement
Advertisement

निर्जीवन बीमा क्षेत्रमा पनि महिलाको नेतृत्व सहभागिता कमजोर देखिएको छ। यस क्षेत्रका कम्पनीको सञ्चालक समितिमा महिलाको प्रतिनिधित्व १९ प्रतिशत मात्रै छ भने पुरुषको हिस्सा ८१ प्रतिशत छ। कार्यकारी व्यवस्थापन तहमा महिलाको सहभागिता २२ प्रतिशत र पुरुषको ७८ प्रतिशत रहेको छ। व्यवस्थापक तहमा महिलाको प्रतिनिधित्व ३१ प्रतिशत र पुरुषको ६९ प्रतिशत छ।

लघु बीमामा पनि उच्च नेतृत्वमा महिलाको संख्या न्यून

लघु बीमा क्षेत्रमा समेत उच्च नेतृत्व तहमा महिलाको प्रतिनिधित्व कमजोर रहेको प्रतिवेदनले देखाएको छ।

लघु जीवन बीमा कम्पनीको सञ्चालक समितिमा महिलाको सहभागिता ३२ प्रतिशत छ भने पुरुषको ६८ प्रतिशत छ। त्यस्तै, प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी व्यवस्थापन तहमा महिलाको उपस्थिति ११ प्रतिशत मात्रै छ। यस तहमा पुरुषको सहभागिता ८९ प्रतिशत रहेको छ। व्यवस्थापक तहमा महिलाको प्रतिनिधित्व २८ प्रतिशत र पुरुषको ७१ प्रतिशत रहेको छ।

लघु निर्जीवन बीमा कम्पनीको सञ्चालक समितिमा महिलाको प्रतिनिधित्व ३२ प्रतिशत, कार्यकारी व्यवस्थापनमा १७ प्रतिशत र व्यवस्थापक तहमा ३६ प्रतिशत रहेको छ। पुरुषको सहभागिता भने क्रमशः ६८, ८३ र ६४ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ।

अध्ययनले महिलाहरू नेतृत्व तहमा पुग्न मात्रै नभई त्यहाँ टिकिरहनसमेत चुनौती रहेको औंल्याएको छ। वरिष्ठ कार्यकारी नेतृत्वमा पुगेका महिलाले पुरुषको तुलनामा बढी दरमा पद छाड्ने गरेको प्रतिवेदनमा उल्लेख छ।

निर्जीवन बीमा क्षेत्रको कार्यकारी व्यवस्थापनमा महिलाको पद छाड्ने दर ९.१ प्रतिशत रहेको छ भने पुरुषको ७.७ प्रतिशत छ। लघु निर्जीवन बीमाको कार्यकारी तहमा महिलाको पद छाड्ने दर २५ प्रतिशत पुगेको छ। पुरुषको यस्तो दर भने ५.३ प्रतिशत मात्रै रहेको छ।

बीमा कम्पनीहरूमा लैङ्गिक समानता प्रवर्द्धन गर्ने संस्थागत नीति तथा अनुगमन प्रणालीको अभावलाई पनि महिला नेतृत्व विकासको प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ। अधिकांश कम्पनीमा लैङ्गिक आधारमा पदोन्नति तथा तलब पुनरावलोकन गर्ने व्यवस्थित प्रणाली नरहेको अध्ययनको निष्कर्ष छ।

बीमा अभिकर्तामा भने महिलाको सहभागिता बढी

उच्च व्यवस्थापन र नेतृत्व तहमा महिलाको प्रतिनिधित्व कमजोर भए पनि बीमा क्षेत्रको प्रारम्भिक तहमा उनीहरूको सहभागिता तुलनात्मक रूपमा बलियो देखिएको छ।

अध्ययन प्रतिवेदनअनुसार जीवन बीमा कम्पनीमा ५७ प्रतिशत महिला अभिकर्ता छन् भने पुरुष अभिकर्ताको हिस्सा ४३ प्रतिशत छ। लघु जीवन बीमा कम्पनीमा महिला अभिकर्ताको सहभागिता ६२ प्रतिशत र पुरुषको ३८ प्रतिशत रहेको छ।

निर्जीवन बीमा कम्पनीमा महिला अभिकर्ताको सहभागिता ४० प्रतिशत रहेको अध्ययनले देखाएको छ। पुरुष अभिकर्ताको हिस्सा ३४ प्रतिशत उल्लेख गरिएको छ।

यी तथ्यांकले बीमा क्षेत्रमा महिलाको प्रवेश र सहभागिता तुलनात्मक रूपमा राम्रो भए पनि उनीहरूलाई व्यवस्थापकीय तथा कार्यकारी नेतृत्वसम्म पुर्‍याउने अवसर र संस्थागत संरचनामा चुनौती रहेको संकेत गर्छ।

अध्ययनले बीमा क्षेत्रमा महिला सहभागिता बढाउनु मात्रै पर्याप्त नहुने निष्कर्ष निकालेको छ। महिलालाई नेतृत्व तहसम्म पुग्ने समान अवसर, पदोन्नतिमा समानता, तलब तथा सुविधामा पारदर्शिता र नेतृत्वमा टिकिरहने अनुकूल संस्थागत वातावरण निर्माण गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ।

सम्बन्धित समाचार