free website hit counter

आन्दोलन र बाढीको दोहोरो मारमा निर्जीवन बीमा व्यवसाय

beemaadmin
२०८३ मंसिर १, सोमबार

काठमाडौं । गत वर्षको जेनजी आन्दोलन र यस वर्षको विनाशकारी बाढीको असर निर्जीवन बीमा क्षेत्रमा देखिन थालेको छ। आन्दोलनका क्रममा भएको ठूलो भौतिक तथा व्यावसायिक क्षतिका कारण अर्बौँ रुपैयाँको बीमा दायित्व सिर्जना भएको अवस्थामा रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले बीमा कम्पनीमाथि थप आर्थिक दबाब बढाएको छ।

गत वर्षको आन्दोलनबाट सिर्जित बीमा दाबीको मूल्याङ्कन तथा भुक्तानी प्रक्रिया पूर्ण रूपमा टुङ्गिन नपाउँदै भदौ १० गते आएको बाढीले निर्जीवन बीमा कम्पनीहरूको जोखिम व्यवस्थापनमा थप चुनौती थपेको हो। यसको असर कम्पनीहरूको वित्तीय विवरणमा समेत देखिन थालेको छ।

Advertisement
Advertisement

यसैबीच, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणले कम्पनीको वित्तीय अवस्था अझै दबाबमा रहेको देखाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २० करोड ९८ लाख ३२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ।

Advertisement
Advertisement

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा २६ करोड ७३ लाख ७२ हजार रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा घाटा केही घटे पनि कम्पनी अझै ठूलो घाटामा रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ३२ रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ४० रुपैयाँ ७८ पैसा ऋणात्मक थियो।

कम्पनीको बीमाशुल्क आर्जनमा समेत गिरावट आएको छ। गत वर्षको असोजसम्म ६२ करोड ११ लाख ३४ हजार रुपैयाँ खुद आर्जित बीमाशुल्क संकलन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ५६ करोड ९३ लाख ८३ हजार रुपैयाँ मात्रै संकलन गरेको छ।

त्यस्तै, लगानी तथा कर्जाबाट प्राप्त हुने आम्दानी पनि घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ६ करोड ३७ लाख ७८ हजार रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको असोजसम्म घटेर ४ करोड ७ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ।

आम्दानीका प्रमुख स्रोतमा आएको गिरावटसँगै कम्पनीको कुल आम्दानी पनि घटेको छ। अघिल्लो वर्षको असोजसम्म ८४ करोड १९ लाख ८१ हजार रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले यस वर्षको सोही अवधिमा ७६ करोड ४३ लाख ७८ हजार रुपैयाँ मात्रै आम्दानी गरेको छ। यसअनुसार कुल आम्दानी ९.२२ प्रतिशतले घटेको छ।

यद्यपि, कम्पनीको कुल खर्चमा भने केही कमी आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म एक अर्ब १० करोड ९३ लाख ५३ हजार रुपैयाँ रहेको कुल खर्च चालु आर्थिक वर्षको असोज मसान्तसम्म घटेर एक अर्ब ६ करोड ४१ लाख ३९ हजार रुपैयाँ कायम भएको छ।

दाबी भुक्तानीतर्फ भने कम्पनीले यस वर्ष तुलनात्मक रूपमा कम रकम भुक्तानी गरेको छ। गत आर्थिक वर्षको असोजसम्म एक अर्ब ८ करोड १६ लाख ६५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ६७ करोड ३९ लाख ४३ हजार रुपैयाँ भुक्तानी गरेको छ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ रहेको छ। विपत्ति कोषमा २४ करोड ८१ लाख २० हजार रुपैयाँ कायम छ। तर, कम्पनीको सञ्चित मुनाफामा भने उल्लेख्य गिरावट आएको छ। गत वर्षको असोजसम्म ३७ करोड ७७ लाख ७३ हजार रुपैयाँ रहेको सञ्चित मुनाफा यस वर्ष घटेर १६ करोड ७० लाख ९ हजार रुपैयाँमा झरेको छ।

अर्कोतर्फ, कम्पनीको बीमा कोषको आकार भने बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ अर्ब ३८ करोड ३५ लाख ९० हजार रुपैयाँ रहेको बीमा कोष चालु आर्थिक वर्षको असोजसम्म बढेर ८ अर्ब ८९ करोड ४३ लाख २७ हजार रुपैयाँ पुगेको छ।

बीमा कोषमा वृद्धि देखिए पनि खुद बीमाशुल्क, लगानीबाट हुने आम्दानी र सञ्चित मुनाफामा आएको गिरावटले सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वित्तीय अवस्थामा दबाब कायम रहेको संकेत गरेको छ।

सम्बन्धित समाचार