काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवसको अवसरमा मंसिर १ गते आयोजित विशेष कार्यक्रममा कम्पनीलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र वैदवार क्षेत्रीलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
आन्तरिक राजस्व विभागद्वारा आयोजित करदाता सम्मान कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीका रूपमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सम्मानित भएको हो।
कम्पनीले उक्त आर्थिक वर्षमा उत्कृष्ट व्यावसायिक कारोबार गर्दै नेपाल सरकारलाई उल्लेख्य कर योगदान गरेको जनाएको छ। सरकारी स्तरबाट प्राप्त यस सम्मानले कम्पनीको व्यावसायिक यात्रालाई थप प्रोत्साहन मिल्ने सीईओ वैदवारले बताए। उनका अनुसार यस उपलब्धिले आगामी दिनमा व्यवसाय विस्तार र वृद्धिका लागि थप हौसला प्रदान गरेको छ।
नेपाल सरकारले प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। यस अवसरमा सरकारले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ।