काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सम्बन्धमा नयाँ मोड ल्याउने र द्विपक्षीय सहकार्य विस्तार गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्। केही सञ्चारमाध्यमले भ्रमणलाई विगतको कूटनीतिक दूरी घटाउने प्रयासका रूपमा प्रस्तुत गरेका छन् भने केहीले भारतप्रति नेपालको नीतिगत दृष्टिकोणमा आएको परिवर्तनको संकेतका रूपमा विश्लेषण गरेका छन्।
शनिबार प्रकाशित द इकोनोमिक टाइम्स को रिपोर्टले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई ‘भारतप्रति नीतिगत बदलाव’को संकेतका रूपमा उल्लेख गरेको छ। प्रधानमन्त्री बनेपछि सुरुमा विदेश भ्रमण नगर्ने र भारतीय विदेश सचिवसँग भेट नगर्ने निर्णय गरेका शाह अहिले नेपालको पूर्वाधार तथा आर्थिक विकासका लागि भारतसँग सहकार्य विस्तार गर्न इच्छुक देखिएको रिपोर्टमा उल्लेख छ।
रिपोर्टअनुसार भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले ऊर्जा तथा कनेक्टिभिटीसँग सम्बन्धित परियोजनाको उद्घाटन, नयाँ परियोजनाको शिलान्यास र संयुक्त दृष्टिपत्र सार्वजनिक गर्ने तयारी छ। यसबाहेक स्टार्टअप, प्रविधि, नवप्रवर्तन तथा खेलकुदजस्ता नयाँ क्षेत्रमा सहकार्यका विषय पनि छलफलमा समेटिने अपेक्षा गरिएको छ।
नेपालले भारतसँग थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गर्ने विषयलाई पनि द इकोनोमिक टाइम्स ले प्राथमिकताका साथ उल्लेख गरेको छ। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भारतीय हवाई क्षेत्र प्रयोगको अनुमति नेपालले खोजिरहेको रिपोर्टमा जनाइएको छ।
त्यस्तै, नेपालले भारतसँग दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्याकेज माग गरेको विषय पनि रिपोर्टमा समेटिएको छ। उक्त प्याकेजमा ऊर्जा तथा अन्य पूर्वाधार विकासका लागि ऋण, सिद्धार्थ राजमार्गको स्तरोन्नति र बाढीपछिको पुनर्निर्माणका लागि अनुदान समावेश रहेको बताइएको छ।
यसैगरी, द इन्डियन एक्सप्रेस ले शनिबार प्रकाशित रिपोर्टमा प्रधानमन्त्री शाहको भ्रमणका मुख्य एजेन्डामा व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा तथा जलस्रोत, भौतिक तथा डिजिटल कनेक्टिभिटी, प्रविधि तथा नवप्रवर्तन र खेलकुदलगायतका विषय रहेको उल्लेख गरेको छ।
अखबारका अनुसार शाहको भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनेछ। भारतको ‘नेबरहुड फर्स्ट’ अर्थात् छिमेक पहिलो नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई दिइएको महत्त्वका रूपमा पनि भ्रमणलाई व्याख्या गरिएको छ।
टाइम्स अफ इन्डिया ले पनि शनिबार प्रकाशित समाचारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच नेपाल–भारत सम्बन्धका समग्र पक्षका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुने जनाएको छ। भ्रमणका क्रममा ऊर्जा परियोजनाको उद्घाटन, द्विपक्षीय सम्झौता र विभिन्न क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल हुने रिपोर्टमा उल्लेख छ।
सम्बन्धलाई इतिहासभन्दा भविष्यतर्फ लैजानुपर्ने तर्क
भारतीय सञ्चारमाध्यमले समाचारमार्फत मात्रै नभई विचार लेखहरूमार्फत पनि प्रधानमन्त्री शाहको भ्रमणलाई सम्बन्ध सुधारको अवसरका रूपमा प्रस्तुत गरेका छन्।
द प्रिन्ट मा शनिबार प्रकाशित एक विचार लेखले विगतका विवादमा अल्झिनुभन्दा भविष्यको सहकार्यलाई प्राथमिकता दिनुपर्ने तर्क गरेको छ। लेखमा प्रधानमन्त्री शाहको भ्रमणले दुई देशबीचको सम्बन्ध सामान्यीकरण गर्न र लामो समयदेखि रहेका विवाद समाधानका लागि संवादको वातावरण बनाउन सक्ने उल्लेख छ।
लेखले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, गोर्खा भर्ती, सीमा विवाद र भारतीय नोटको समस्या जस्ता लामो समयदेखि अल्झिएका विषयलाई संवादमार्फत अघि बढाउनुपर्ने सुझाव दिएको छ।
त्यस्तै, दुई देशबीच नियमित उच्चस्तरीय संवादलाई संस्थागत गर्दै नयाँ पुस्ताको आवश्यकताअनुसार डिजिटल कनेक्टिभिटी, प्रविधि, डेटा सहकार्य र शैक्षिक साझेदारी विस्तार गर्नुपर्नेमा पनि जोड दिइएको छ।
लेखको निष्कर्षमा एउटा भ्रमणले मात्रै सबै विवाद समाधान गर्न नसक्ने भए पनि निरन्तर संवाद र व्यवहारिक सहकार्यले द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन सक्ने उल्लेख छ।
सीमा विवाद र असमझदारी अझै चुनौती
इन्डिया टुडे ले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई विगतमा देखिएका कूटनीतिक असहजताबीच सम्बन्ध सुधारको प्रयासका रूपमा विश्लेषण गरेको छ।
अखबारले नेपाल र भारतबीच कालापानी, लिपुलेक तथा लिम्पियाधुरालाई लिएर सीमा विवाद कायमै रहेको उल्लेख गरेको छ। गत मे महिनामा प्रधानमन्त्री शाहले सीमा विवाद समाधानका लागि चीन र बेलायतको भूमिका खोजेको विषयपछि भारतले सीमा समस्यामा तेस्रो पक्षको संलग्नता अस्वीकार गरेको घटनालाई पनि रिपोर्टमा स्मरण गरिएको छ।
नेपाल र भारतबीच व्यापार, पारवहन तथा अन्य क्षेत्रमा सहकार्य भइरहे पनि विभिन्न विषयमा मतभेद र असमझदारी कायमै रहेको सञ्चारमाध्यमको विश्लेषण छ।
यसैबीच, बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण, आर्थिक सहायता, व्यापार, पारवहन, ऊर्जा र कनेक्टिभिटीसम्बन्धी सहकार्य विस्तारका विषय पनि प्रधानमन्त्री शाहको भ्रमणका महत्त्वपूर्ण एजेन्डा बन्ने अपेक्षा गरिएको छ।
समग्रमा भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणलाई विशेष चासोका साथ हेरेका छन्। विगतका कूटनीतिक असहजता घटाउँदै आर्थिक तथा विकास साझेदारीलाई व्यवहारिक परिणाममा पुर्याउने अवसरका रूपमा भ्रमणलाई चित्रण गरिएको छ। यद्यपि, सीमा विवादलगायतका पुराना असमझदारी समाधानका लागि निरन्तर संवाद र राजनीतिक इच्छाशक्ति आवश्यक पर्ने विश्लेषणसमेत गरिएको छ।