काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ। यस दिन सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदी ४५ रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ६५ रुपैयाँमा झरेको छ। शुक्रबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। पछिल्लो कारोबार सत्रमा सुनको मूल्य प्रतिऔंस ८६.३० अमेरिकी डलरले घटेको छ भने चाँदीको मूल्यमा पनि झण्डै ४ प्रतिशतको गिरावट आएको छ।
अन्तर्राष्ट्रिय स्पट बजारको पछिल्लो कारोबार बन्द हुँदा सुनको मूल्य २.३८ प्रतिशतले घटेर प्रतिऔंस ३ हजार ५३७.९० डलर कायम भएको छ। अघिल्लो कारोबार सत्रमा सुन प्रतिऔंस ३ हजार ६२४.२० डलरमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतिऔंस १.६४ डलर अर्थात् ३.८३ प्रतिशतले घटेर ४१.१२ डलरमा झरेको छ। अघिल्लो सत्रमा चाँदी प्रतिऔंस ४२.७६ डलरमा कारोबार भएको थियो।
कारोबारको अन्तिम मूल्यका आधारमा सुन २.३८ प्रतिशत र चाँदी ३.८३ प्रतिशतले घटेको देखिए पनि दिनभरिको उच्चतम मूल्यसँग तुलना गर्दा गिरावट अझै ठूलो देखिएको छ। विश्लेषणअनुसार सुनमा ३.६५ प्रतिशतसम्म र चाँदीमा ४.४० देखि ६.९० प्रतिशतसम्मको गिरावट आएको थियो।
विश्व वित्तीय बजारमा अमेरिकी डलर बलियो हुनु, सेयर बजार तथा बन्डको प्रतिफलमा आएको परिवर्तन र लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि बहुमूल्य धातुमा बिक्री चाप बढेको विश्लेषण गरिएको छ। यसले सुनचाँदीको मूल्यमा थप दबाब सिर्जना गरेको हो।
अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य थप घट्न सक्ने संकेत गरेको छ।
नेपाल राष्ट्र बैंकको प्रचलित विदेशी विनिमय दरका आधारमा गणना गर्दा भन्सार महसुल तथा अन्य स्थानीय करबाहेक अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस करिब १२ हजार ८२२ रुपैयाँ र चाँदी प्रतिऔंस करिब २४४ रुपैयाँ सस्तिएको देखिन्छ।
शुक्रबार राति अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभाव सोमबार नेपाली बजारमा देखिन सक्नेछ। आइतबार अन्तर्राष्ट्रिय स्पट बजार बन्द रहने भएकाले शुक्रबारको अन्तिम कारोबार मूल्य नै उपलब्ध छ। सोमबार अन्तर्राष्ट्रिय बजार खुलेपछि नयाँ मूल्य निर्धारण हुनेछ।
अन्तर्राष्ट्रिय बजारको पछिल्लो गिरावट कायम रहेमा सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गर्ने स्थानीय बजार मूल्यमा पनि उल्लेख्य कमी आउन सक्ने अनुमान गरिएको छ।