गुल्मी । काममा ढिलाई र गुणस्तर हिन काम गरेको भन्दै केही ठेकेदारलाई कालो सूचिमा पनि राखिएको छ । तर नेपालका ठेकेदार कस्तो काम गर्छन् भन्ने कुरा गुल्मीमा बन्दै गरेको पक्की पुल बुधबार राति परेको वर्षासँगै आएको बाढीले बगाएसगै देखिएको छ । जिल्लाको मुसिकोट नगरपालिकाका पौदीअमराई र कल्यार जोड्ने सो पुल दोस्रोपटक बाढीले बगाएको हो । २०७३ साल असारमा निर्माण सम्झौता भएको पुल ०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो । गत वर्षको वैशाख १ गते पनि यो पुल बाढीले बगाएको थियो । पुल भत्किएको ८ महिनापछि बनाउन सुरु गरिएको पुल बुधबार बगाएको हो । पुलको चैत ३० गते मात्र ढलान गरिएको थियो । पुल भत्किएसँगै यसपटक बाढीले फर्मा, फलामका पाइप, जेनेरेटर, ह्युम पाइप र ढलाइ बगाएकाले ठूलो क्षति पुगेको छ । स्वीस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रम अन्तर्गत कुल ५ करोड १७ लाखको लागतमा बन्न लागेको पुलको वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले निर्माण गरिरहेको थियो । ५८ मिटर लामो पुलको बीचमा पिलर छैन ।