काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा आईएमई जनरल इन्स्योरेन्स (आईजीआई)ले नाफामा छलाङ मारेको छ । कम्पनीको नाफा १२५ प्रतिशतले बृद्धि भएको हो । कम्पनीले पुस मसान्तसम्म १५ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ को प्रथम छ महिनामा कम्पनीको नाफा ६ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीले ६ महिनमा ७१ करोड १३ बीमा शुल्क आर्जन गरेको छ । ६ महिनाको कुल आय ८० करोड ८९ लाख रुपैयाँ रहेको छ । सो अवधिमा कुल व्यय ६५ करोड १९ लाख रुपैयाँ भएको छ ।
आईएमई जनरल इन्स्योरेन्सले नियमित बीमा कारोबार बाहेक लगानी तथा कर्जाबाट आउने प्रतिफलमा पनि उच्च वृद्धि गरेको छ । यसतर्फ कम्पनीले ६ महिनामा ८ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको प्रथम ६ महिनामा ४ करोड ९४ लाख रुपैयाँ थियो ।
६ महिनामा कम्पनीले २९ करोड १० लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीले ७२ हजार १२५ बीमा लेख जारी गरेको र १ हजार ७३२ वटा बीमा दावीमा भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
भुक्तानी हुन बाँकी रकममा पनि कम्पनीले धेरै सुधार गरेको छ । एक वर्षअघि भुक्तानी हुन बाँकी रकम ७६ करोड ८२ लाख रुपैयाँ रहेकोमा पुस मसान्तसम्ममा ६१ करोड १७ लाख रुपैयाँ भएको कम्पनीले जनाएको छ ।
कम्पनीको वित्तीय अवस्थामा देखिएको सुधारसँगै सेयर मूल्यमा पनि वृद्धि भइरहेको छ । एक वर्षअघि प्रतिसेयर ३०० देखि ४०० रुपैयाँमा कारोबार भईरहेको यस कम्पनीको सेयर हाल प्रतिकित्ता १००० देखि १११० रुपैयाँमा किनबेच भईरहेको छ ।