काठमाण्डौ। नियामक निकाय नेपाल बीमा प्राधिकरणले प्रिमियम मूल्यमा आईपीओ जारी गरेका बीमा कम्पनीहरुले थप भएको प्रिमियम रकम जगेडा कोष (रिजर्भ फण्ड) मा राख्नुपर्ने व्यवस्था गर्दैछ । सार्वजनिक लेखा समितिले प्रिमियममा आईपीओ जारी भएका बीमा कम्पनीहरुमा चासो देखाएपछि नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई थप हुन आएको प्रिमियम रकम जगेडा कोषमा राख्न लगाउने तयारी गरेको हो । हिमालयन रि इन्स्योरेन्स, सिटिजन लाइफ, आइएमई लाइफ, रिलायबल नेपाललाइफ, सन नेपाल लाइफ गरी ५ बीमा कम्पनीले प्रिमियममा आईपीओ जारी गरेका थिए । प्राधिकरणले उक्त कम्पनीहरुलाई मौखिक रुपमा निर्देशन दिइसकेको छ भने अब लिखित रुपमै निर्देशन दिने तयारी गरेको प्राधिकरणको दाबी छ । साथै गत पुष २२ गते सार्वजनिक लेखा समितिले बीमा ऐन विपरीत बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएको विषयमा चासो देखाएको थियो । सो विषयमा समितिले प्राधिकरणलाई उक्तकार्य सच्याउन दिर्नेशन दिएको थियो । प्राधिकरणले समितिको पालनागर्दै प्रिमियम रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो । प्राधिकरणअनुसार प्रिमियममा आईपीओ जारी भएका बीमा कम्पनीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएका कारण सो अवधिसम्म उक्त रकम बीमा कम्पनीले कुनै प्रयोजनका लागि चलाउन पाउँदैनन् । हिमालयन रिइन्स्योरेन्सले प्रिमियमबापत ३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ भने आइएमई लाइफले १ अर्ब ५६ करोड ७ लाख संकलन गरेको छ । त्यस्तै, सिटिजन लाइफले १ अर्ब ५३ करोड ९० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब २६ करोड लाख रुपैयाँ संकलन गरेको छ । ती बीमा कम्पनीले आईपीओको प्रिमियमबाट कुल ९ अर्ब ३३ करोड ७२ लाख रुपैयाँ संकलन गरेका छन्, जुन रकम प्राधिकरणले आ–आफ्नै जगेडामा निर्देशन दिएको छ ।