काठमाडौंं । विषम परिस्थितिका बीचमा संवैधानिक बाध्यताका कारण सरकारले आज दिउँसो ४ बजे आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पेश गर्दैछन्। बजेट भाषण लगत्तै प्रतिनिधि सभाको अर्को बैठक बिहिवार साँझ ६ बजे बस्ने छ।
विश्व अर्थतन्त्रलाई ध्वस्त बनाइदिएको कोरोना कहरका बीचमा बजेटको आकार सानो बनाउनु पर्ने दबाब चौतर्फी रूपमा आए पनि सरकार ठूलै आकारको बजेट सार्वजनिक गर्ने अन्तिम तयारी गरिसकेको छ । कोरोनाका कारण थिलथिलो भएको अर्थतन्त्र उकास्न, राहत दिन, लगानी बढाउन, रोजगारी सिर्जना गर्न, विदेशबाट फर्किएकालाई व्यवस्थापन गर्न र पञ्चवर्षीय योजना पुरा गर्न ठूलै आकारको बजेट ल्याउनु परेको सरकारको भनाई रहेको छ । सरकारले १५औं पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ। उक्त योजनामा ९२ खर्व खर्च गर्नु पर्ने भनिएको छ। उक्त योजनाकै आधारमा पनि सरकाले वार्षिक १८ खर्वको हाराहारीमा खर्च गर्नु पर्छ। कोरोनाको कारण उक्त रकम खर्च गर्न सकिँदैन भन्ने स्थितिमा सरकार छैन। विदेशबाट फर्किएका करिब १० लाख जनतालाई व्यवस्थापन गर्नु पर्ने आंकलन गरिएको छ। त्यसको लागि रोजगारी सिर्जनाको चुनौती यति बेला छ। त्यसलाई व्यवस्थित गर्न पनि खर्च गर्नै पर्ने बाध्यतामा सरकार छ। यसले गर्दा समेत बजेट बढाउनुको विकल्प नरहेको सरकारको भनाइ छ।